फाइल तस्वीर

राजनीति

बागमती : सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता गर्न समय निर्धारण

By खबरहब

January 04, 2023

मकवानपुर– बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ । सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार, पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

यसैगरी, उक्त दिनको २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । यसैगरी, सोही दिनको अपराह्न ४ बजेभित्र सभामुख र उपसभामुख पदको उममेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

बागमती प्रदेशसभामा अहिले नेपाली कांग्रेसको ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना प्रदेशसभाका सदस्य छन् ।