काठमाडौँ- नेपाल र भारतबीच शताब्दीऔँदेखि धार्मिक, साँस्कृतिक, सामाजिक–आर्थिक र राजनीतिक सम्बन्ध रहीआएको छ । दुई मुलुकबीच खुला सीमा र सीमापार विवाह गर्ने चलनका कारण पारिवारिक र जनस्तरको सम्बन्ध पनि उत्तिकै मजबुत रहीआएको छ ।
भारतका प्रभावशाली प्राध्यापक एसडी मुनीको एउटा भनाइले दुई मुलुकबीचको सम्बन्धको प्रगाढता दर्शाउँछ । उनले नेपाल र भारत ‘विश्वकै सबैभन्दा नजिकका छिमेकी’ भनेका थिए ।
विभिन्न कूटनीतिक एवम् नागरिक साझदारीले यसलाई पुष्टि पनि गर्दै आएका छन् । उदाहरणका लागि नेपालका सेना प्रमुख भारतीय सेनाको मानार्थ जनरल रहने व्यवस्था छ भने भारतीय सेना प्रमुख पनि नेपाली सेनाको मानार्थ जनरल रहने व्यवस्था छ । त्यस्तै, भारतीय सेनामा नेपाली गोर्खाली सैनिक पनि कार्यरत रहँदै आएका छन् ।
नेपालमा भारतको संलग्नता वसुधैव कुटुम्बकम् र छिमेकी प्रथम नीतिमा आधारित छ । यस आधारमा भारतले नेपाललाई पूर्वाधारको विकासमा सहयोग, अनुदान, मानव सुरक्षा, मानव विकास सूचकांकमा सुधार र ७२ सालमा गएको भूकम्पजस्तो विपदको समयमा सहयता पनि प्रदान गर्दै आएको छ ।
स्वतन्त्रतापछि पनि भारतले नेपालमा निकट सम्बन्धको विकास गरेको छ । सन् १९५० को शान्ति तथा मैत्रि सन्धिमार्फत दुई मुलुकबीच ‘विशेष सम्बन्ध’ कायम छ । यसअनुसार एक मुलुकका नागरिकलाई अर्को मुलुकको भ्रमण गर्न, व्यापार गर्न, बसोबास गर्न, रोजगारी प्राप्त गर्नलगायतको व्यवस्था गरिएको छ ।
दुई मुलुकबीचको सम्बन्धमा बेलाबेला तिक्तता पनि आउने गरेको छ । पछिल्ला केही वर्षमा पनि दुई मुलुकबीचको सम्बन्ध अपेक्षाअनुसार सुमधुर हुन नसकेको पनि सत्य हो । खासगरी ७२ सालमा मधेशको विषयले उग्ररुप लिएका बेला नेपालका नेताहरुले भारतलाई दोष लगाएका थिए ।
पछिल्लो समयमा नेपालका नेताहरुले घरेलु राजनीतिक खपतका लागि भारतलाई नराम्रो देखाउने अभ्यास पनि देखिने गरेको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दुई मुलुको सम्बन्ध अपेक्षाअनुसार सुमधुर बन्न सकेको थिएन ।
ओलीको प्रधानमन्त्रीत्वकालमा लिम्पियाधुरा, कालापानी, लिपुलेकजस्ता दुई मुलुकबीच रहेको भौगोलिक विवाद पनि सतहमा आएको थियो । यसबाहेक ओलीले भगवान् रामको जन्मभूमिबारे पनि प्रश्न उठाएका थिए ।
कतिपय विश्लेषकहरु भने ओलीले चालेका कदम र उनको बयानबाजीलाई नेपालको अस्थीर घरेलु राजनीति र चिनियाँ प्रभावको प्रतिबिम्बको रुपमा चित्रित गरेका छन् ।
धेरैले यसलाई तत्कालिन गठबन्धन सरकारमा आफ्नो स्थान असुरक्षित हुँदा ओलीले जनताको ध्यान अन्यत्रै मोड्न अख्तियार गरेको रणनीतिको रुपमा पनि अथ्र्याएका छन् ।
यद्यपि शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला भने दुई मुलुकको सम्बन्ध सुमधुर हुने दिशामा अघि बढेको थियो । सम्बन्धमा सुधार आएको सन्देशस्वरुप यसै वर्षको वैशाख पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धको जन्मस्थान लुम्बिनीको भ्रमण गरेका थिए ।
प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा दुबै मुलुकले संयुक्त रुपमा लुम्बिनीलाई ‘बौद्ध सर्किट’ मा संलग्न गराउने योजना अघि सारेका थिए । पश्चिम सेती जलविद्युत परियोजनाजस्ता नेपालका पूर्वाधारको विकासमा पनि भारतले साझेदारी गरिरहेको छ । यसबाहेक शिक्षा क्षेत्रमा पनि दुई मुलुकले साझेदारी गरिरहेका छन् ।
प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैँ अटल रहेको बताएका थिए । यसलाई पनि दुई मुलुकबीचको सम्बन्ध सुमधुर हुँदै गएको अर्थमा लिइएको छ ।
हालै सम्पन्न निर्वाचनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । यससँगै दुई मुलुकबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ ।
प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्री मोदीले बधाई दिँदै दुई मुलुकबीचको सम्बन्ध मैत्रिपूर्ण हुने अपेक्षा गरेका थिए । दुबै पक्षले सम्बन्ध सुधार गर्न आफूहरु उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।
केही समयअघि एक अर्काविरुद्ध आलोचनामा उत्रेका ओली र प्रचण्डबीचको समझदारीबाट नयाँ सरकार गठन भएको छ । यससँगै दुबै मुलुकका लागि एक अर्कासँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउने मौका जुरेको छ ।