देश/प्रदेश

पाण्डे संसद् सचिवालयको सचिवमा बढुवा

By खबरहब

January 04, 2023

काठमाडौँ- सङ्घीय संसद् सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् ।

संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको आजको बैठकले उनलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो । उक्त समितिमा हाल राष्ट्रियसभा अध्यक्ष, सचिवालयका महासचिव र सचिवालयकै तीन जना सचिव रहेका छन् ।

त्यसअघि लोकसेवा आयोगको बढुवा समितिले उनलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । उनी हाल लेखा समितिको सचिव, प्रशासन महाशाखाका प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा रहेका थिए ।

निजामती सेवामा विस २०६७ चैत २४ गते देखि उपसचिवबाट सेवा प्रवेश गरेका पाण्डे विसं २०७३ वैशाख २० गते खुला प्रतिस्पर्धाबाट संसद् सेवाको सहसचिव भएका थिए । नेतृत्व व्यवस्थापन विषयमा पिएचडी गरेका उनले त्यसअघि विश्वविद्यालय अनुदान आयोगमा कार्यक्रम अधिकृतका रुपमा पाँच वर्ष काम गरेका थिए ।