नेपालमा सामाजिक सञ्जालको युग सुरु भएदेखि ‘संस्था’ भन्दा ‘व्यक्तिवाद’ हावी हुन थालेको छ । त्यसमा पनि व्यक्तिको दानवीकरण र देवत्वकरण गर्न समाजिक सञ्जालका लडाकुलाई धेरै समय नै लाग्दैन । उदाहरणको रुपमा भन्नुपर्दा, नेपालमा राजेश हमाल ठूलो वा कलिउड ठूलो भन्ने विषयमा नेपालीहरु सोझै राजेश हमाल ठूलो भन्छन् । तर, यहाँ भन्नुपर्दा जब कलिउड अर्थात् संस्था बलवान् हुन्छ, यसले हजारौँ राजेश हमालहरु जन्माउन सक्छ । यो विषयमा कसैको ध्यान जाँदैन ।
भारतमा पनि अहिले प्रदर्शनमा आएको फिल्म ‘पठान’ को चामत्कारिक बक्स अफिस सफलतापछि शाहरुख खानको चर्चा फेरि एकचोटी चुलिएको छ । भनिएको छ, केजिएफ २ र आरआरआर ले झण्डा फराएको बक्स अफिसमा कमाईको किल्ला अन्ततः शाहरुखले तोड्दै छन् । तर, हलिउडमा भने विशेष रुपमा संस्थाकै बढी चर्चा हुन्छ , अभिनयकर्ताको भन्दा । टम क्रुज, लियोनार्दो डिक्याप्रियोलगायत सबै अभिनेता मात्र हुन् । मसिहा होइनन् ।
दोस्रो, उदाहरणको रुपमा सामाजिक सञ्जालको छत्रछायाँमा उदाएका केही नेपालका नवयुवक जनप्रतिनिधिहरु आफ्नो भक्तिगान गाउने साइबर मिलिसियाहरु परिचालन गरेर राज्यको मूल समस्या तथा यसको समाधानका तरिकाहरुलाई आफूअनुरुप व्याख्या गर्दैछन् । जसले गर्दा समग्र विकासको ढाँचानै समस्याग्रस्त बन्दै छ । यसका कारण नेपालमा झन् व्यक्तिवाद हावी हुँदैछ । अर्थात कुनै एक व्यक्तिलाई सर्वशक्तिमान बनाउँदा, त्यो व्यक्ति झन् स्वेच्छाचारी हुने सम्भावना प्रबल देखिन्छ । जस्तै, काठमाण्डौ महानगरमा नगरप्रमुख बालेन साह ।
उनले विगत केही महिनादेखि लिँदै आएका निर्णय जनप्रिय देखिँदैनन् । ती सामाजिक सञ्जालमा मात्र प्रिय छन् । काठमाडौं महानगरका नगरप्रमुख बालेन साहले विकल्प नदिई विकासको नाममा गरेको गतिविधि (अध्ययनबिना गरेका निर्णय, जस्तै टुकुचा खोला, फुट्पाथ व्यापारी, दरबार मार्गको पार्किङ्ग) को विषय गम्भीर प्रकृतिको छ । दुरगामी असर गर्ने खालको छ । बालेनदेखि रवि लामिछानेसम्म जनताको ठूलो आस्था र अपेक्षा भएकाले उनीहरुले लिने गलत कदमले मानिसलाई निराश बनाएको छ । रविको नागरिकता तथा राहदानीको प्रकरण तथा पटक पटक गृह मन्त्रालय चाहियो भनेर गरिएको जुहारीलागायतका गतिविधिका कारण कतै यी पात्र पनि ३ महिनामै अलि ‘गन्हाउन’ त थालेका होइनन् भन्ने शंका उत्पन्न हुनु स्वभाविक हो ।
यी व्यक्तिहरू एकातिर हामीले जनताका लागि काम गरिरहेका छौं भनी दाबी गरिरहेका छन् भने अर्कोतर्फ आफ्नो शक्तिको गम्भीर दुरुपयोग गरिरहेका छन् । रविको हकमा उनले लोकप्रिय टेलिभिजन कार्यक्रममार्फत पीडितका लागि ऐक्यबद्धता देखाउने र लड्ने एवं अर्कोतर्फ नागरिकता पुनः प्राप्तिको प्रक्रियामा रीत नपु¥यााएको र एकैपटक दुईवटा राहदानी बोकेर नेपाली कानुनको गम्भीर उल्लंघन गरेको देखियो । तैपनि साइबर लडाकुहरु ‘वृद्ध नेताहरुले नियम तोड्न हुने, हाम्रो रविले किन तोड्न नहुने’ भन्नेखालको तर्क गरिरहेका छन् । यो सबै नेपाली समाजमा रहेको ‘दाइ’ र ‘बा’ प्रवृत्तिकै निरन्तरता मात्र हो ।
चुँलिदो आर्थिक संकट र दरबारमार्ग देखि फुट्पाथ व्यापारीसम्म
नेपालको अर्थतन्त्र दिनानुदिन खस्कँदै गइरहेको छ । व्यापार घाटा बढ्दै गएपछि हालसालै अर्थ मन्त्रालयले प्रदेश र स्थानीय सरकारको खर्च २० प्रतिशतले घटाउने निर्देशन सहित खर्च न्यूनीकरण गर्ने विभिन्न निर्देशिकाहरु जारी गरेको छ । नेपालको विप्रेषण र बिजुली निर्यातमात्र हाम्रो उच्च आयातमुखी अर्थतन्त्रलाई समायोजन गर्ने स्तरमा छैन । तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० को पछिल्लो ५ महिनामा, भारतसँग ३ खर्ब, चीनसँग ९४ अर्ब, बंगलादेशसँग ३ अर्ब व्यापार घाटा छ । हामीले भुटानसँग पनि पछिल्लो पाँच महिनामा करिब २४ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेका छौं । हामी सार्क मुलुकमा अफगानिस्तानसँग मात्रै ३८ लाखले व्यापार नाफको अवस्थामा छौँ ।
नेपाली मुद्रा तेल, शैक्षिक खर्च, विलासिताका वस्तु आयातमा खर्च हुँदा नेपालमा अमेरिकी डलरको सञ्चितीमा दबाब देखिँदै आएको छ । यो नाजुक घडीमा सरकारी र पैतृक सम्पत्तिको सहयोग नभएका सर्वसाधारणले सडकमा फुट्पाथ व्यापारी बनेर आफ्नो जीविकोपार्जन गरिरहेका थिए । तर महानगरले कुनै विकल्पबिना गरेको फट्पाथ व्यापार माथिको बन्देजको कार्य, जोखिमपूर्ण साबित भइरहेको छ । पार्किङ्ग गर्न बन्देज लगाएर सडक व्यापारी मात्र नभएर दरबारमार्गका व्यापारी समुदाय समेत प्रभावित भएका छन् । दरबारमार्गमा सडकको १ लेन ‘डेडिकेटेड पार्किङ्ग’ भनेर सबैको सहमतिमा छुट्याइएको थियो । तर, अकस्मात महनगरले पार्किङ्ग गर्न बन्देज लगाउँदा दरबारमार्गमा व्यापार केही हप्तायता आधाले घटेको छ ।
किन दरबारमार्ग ?
दरबारमार्गको बारेमा कुरा गर्दा, यो नेपालको मुख्य किनमेल क्षेत्र हो । दरबारमार्ग ऐतिहासिक रुपमा नारायणहिटी, लालदरबार, सेतो दरबार र फोहरा दरबारको बगैंचा थियो जुन सन् १९६१ मा तत्कालीन युवराज वीरेन्द्रको योजना अनुसार विकसित भएको थियो । सुरुवातमा यहाँ ट्राभल र ट्रेकिङ्ग पसल थियो त्यसपछि विस्तारै कश्मीरी पसलहरूको हब बन्यो र त्यसपछि अन्ततः नेपालको प्रमुख सामाजिक र किनमेल गन्तव्य बन्न पुग्यो । दरबारमार्गजस्तो सामाजिक र किनमेल गन्तव्य काठमाणडौं बाहिर पनि विस्तारै विकास हँुदै छन् । जस्तै पोखराको लेकसाइड होस्् वा चितवनको नारायणगढ वा विराटनगर–इटहरी वा भैरहवा–बुटवल वा ललितपुरको झमेल । तर, राज्यको यस्तो सन्काहा प्रवित्तिले यो ‘डिफ्युजन’ प्रक्रियालाई अवरोध गर्छ ।
दरबारमार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपाल कक्षपति यो स्थान व्यवसायिक केन्द्र मात्र नभएर सामाजिक केन्द्र पनि भएको बताउँछन् । ‘दरबारमार्ग विकासका लागि प्रदेश वा स्थानीय सरकारले एक रुपैयाँ पनि सहयोग गरेको छैन । केबल यो ठाउँको विकास यहाँका व्यापारिक समुदायको सामुहिक प्रयासबाट भएको छ ।’ उनी भन्छन्, ‘नेपालमा पहिलो पटक सडकमा सौर्य बत्ती हामीले दरबारमार्गमै जडान गरेका थियौं । साथै वर्षमा दुई पटक ढल निकासको व्यवस्थापन पनि हामीले नै गर्नुपर्छ । यसमा हामीले महानगर र वडाको सहयोग प्राप्त गरेका छैनौँ ।’
जसरी फुट्पाथ व्यापार नेपालको आम मानिसको धड्कन हो । त्यसैगरी दरबारमार्ग नेपालको अर्थतन्त्रको ढुकढुकी हो । दरबारमार्गमा प्रायः सबै विदेशी ब्राण्डका पसल छन् । महानगरले बिनाविकल्प पार्किङ्ग हटाएर दरबारमार्गमा व्यापापरीको आत्मविश्वास घटाएको छ । जब दरबारमार्गमा यो अवस्था हुन्छ भने वैदेशिक लगानीको वातावरण बन्न कठिन हुन्छ । किनभने कोही लगानीकर्ता नेपालमा लगानी गर्न आउँछ भने उ एकचोटी दरबारमार्ग पुगेकै हुन्छ । यदि यो अवस्थाको जानकरी उसले त्यहाँ पायो भने, ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ भनेजस्तो उसले नेपालमा लगानी गर्न रुचि देखाउने सम्भावना एकदम कम भएर जान्छ ।
राज्यको भूमिका सहजकर्ता वा नियमनकर्ता ?
नेपालमा स्थानीय होस् वा संघीय सरकार कोही पनि आर्थिक क्रान्तिको लागि प्रतिबद्ध देखिँदैनन् । केबल नारामा र गफमा मात्र सीमित छन् । नेपालमा अहिले पनि अर्थतन्त्रको विषयमा राज्यको भूमिका सहजकर्ता वा नियमनकर्ता हो भन्नेमा अलमलको अवस्थामा छ । सरकारको नीतिले सबैखाले आर्थिक हैसियत भएका व्यापरीलाई समेट्नुपर्नेमा, उसको नीतिले अप्रत्यक्ष वा प्रत्यक्ष रूपमा सबैलाई ध्वस्त पारिहेको छ । कामपाका मेयर बालेन साह सडक विस्तार आयोजनामा पीडित भएका र महानगरको निर्णयबाट प्रभावित बनेका व्यवसायी तथा सरोकारवालासँग भेट्न समेत अस्वीकार गरिरहेका छन् ।
यतिमात्र होइन, उनले माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालासमेतलाई पनि भेट्न अस्वीकार गरेका छन् । कोइरालाले बेचबिखनमा परेका महिलाहरुको पुनर्स्थापना गरी उनीहरुलाई फुट्पाथ व्यवसायमार्फत जीवकोपार्जनमा लागाएकी थिइन् । फुट्पाथ व्यापार गर्न नपाएपछि उनीहरुका लागि अर्को विकल्प के हुन्छ त ? बालेन प्रश्न सुन्न र जवाफ दिन इच्छुक देखिँदैनन् । नयाँ युवाहरुले हाँक्न खोजिरहेको नेपालमा यो शुभ संकेत होइन । यो समग्र लोकतन्त्र माथिको खतरा हो ।
विदेश लखट्ने रणनीति
हामी विकास विरोधी होइनौं । तर, विकल्पबिना महानगरले ज्यादती गर्न मिल्दैन । मानौं, महानगरको डोजर कुनै संरचना नष्ट गर्न आयो । अन्ततः पीडित त्यो व्यक्ति बन्छ जसले भाडा, कर र अन्य सबै आवश्यक राजश्वहरु तिरेर आफ्नो व्यवसाय सञ्चालन गरिरहेको छ । अब त्यो व्यवासायी घरबेटीसँग क्षतिपूर्ति माग जाउँ, मैले भत्काउन लगाएको होइन भन्छ । महानगर जाउँ, तिम्रो घरबेटीले नियम मिचेर बनाएकोले भत्काएको हो भन्छ । घरबेटीसँग गएर क्षतिपूर्ति माग भनेर जवाफ दिन्छ । के अब प्रत्येक व्यक्तिले अदालतमा गएर आफ्नो मुद्दा लड्न सम्भव छ ? यो सम्भव छैन होला । व्यवासायीले काम गर्ने कि मुद्दा लडेर बस्ने ? केही सामाजिक सञ्जालका मिलिसियाहरूले महानगरले फुट्पाथ व्यापारिलाई विस्थापित गरेर सडकमा अब गाडी चलाउन कुनै अवरोध नगरेकोमा गर्व गर्छन् । तर, कसलाई थाहा छ यो कार्यले धेरैको सपनाहरुमाथि डोजर चलाइएको छ । यी सबै कार्यहरूले अन्ततः नेपालीलाई नेपालबाट बाहिर निस्कन बाध्य बनाइरहेको छ । सबैलाई हेक्का रहोस् ।