अपराध

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या

By खबरहब

February 04, 2023

रेसुङ्गा– गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छविलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । 

उनले बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको दाबी गरे । बयानका क्रममा अभियुक्तहरूले गत माघ १२ मा मादक पदार्थ सेवन गरेका भारतीय नागरिक आलिनामले छविलालकी श्रीमती विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी हत्या गरेको बताएको प्रहरीको भनाइ छ । 

दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो । 

शव हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले शंकास्पद देखिएपछि घटनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र विष्णुलाई बयान लिने क्रममा उनीहरूले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।