समाचार

वनजंगल मासिँदा पानीका मुहान सुक्दै

By खबरहब

February 04, 2023

खलंगा– दार्चुलाको अधिकांश ग्रामीण क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । कुनै समय जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीका मुहान थिए । खेतबारीमा सिँचाइ गर्नसमेत समस्या हुँदैनथ्यो । तर अहिले अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ । 

स्थानीय तहले अव्यवस्थितरूपमा जताततै सडक निर्माण गर्दा वनजंगल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो । अहिले ग्रामीण क्षेत्रमा खानेपानीका मुहान खोज्नुपर्ने अवस्था छ । शैल्यशिखर नगरपालिका-६ का गोविन्दसिंह धामीले पानीका मुहान सुक्दै गएको बताए । 

‘केही वर्ष पहिले ठाउँ ठाउँमा पानीका मुहान भेटिन्थे, अहिले सब सुक्दै गएका छन’, उनले भने । वनजंगल फँडानी र सडक विस्तारका कारण पानीका मुहान सुक्न थालेको मालिकार्जुन गाउँपालिका-३ का सोविर धामीको भनाइ छ । 

ग्रामीण  क्षेत्रका पानीका सदाबहार मुहान अहिले मौसमी मुहानका रूपमा परिणत भएका  स्थानीय अकवर टमटाले बताए । मुहान सुक्दै गएपछि यहाँका खोलानालामा समेत पानीको मात्रा घट्दै गएको छ । जिल्लामा लामो समयसम्म हिउँदे वर्षा नहुँदा अन्नबाली सुक्न थालेको छ ।

समयमै हिउँदे वर्षा नहुँदा पनि खानेपानीका मुहानमा पानीको मात्रा कम हुँदै गएको छ । लेकम गाउँपालिका-४ का वडाध्यक्ष महेन्द्र जोशी अव्यवस्थित सडक निर्माणका कारण माथिल्लो भूभागमा भएका पानीका मुहान तल्लो भूभागमा देखापर्ने गरेको र केही मुहान सधैँका लागि हराएर जाने गरेको बताउँछन् । 

मुहान सुक्न थालेपछि पानी ल्याउन डेढघण्टा टाढा हिँड्नुपर्ने स्थिति रहेको शैल्यशिखर-५ का विशनसिंह डाँगाले बताए ।