फाइल फोटो

खेलकुद

मेयर कपको उपाधि बेसीशहर-२ को पोल्टामा

By खबरहब

June 04, 2023

लमजुङ –  लमजुङ बेसीशहरमा भएको तेस्रो ‘मेयर कप’ वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि बेसीशहर-२ ले हात पारेको छ।

शनिबार साँझ भएको फाइनल खेलमा बेसीशहर-१० लाई शून्यकाविरुद्ध १ गोल गरी वडा नं. २ ले उपाधि जितेको हो।

खेलको पहिलो हाफको १४ औँ मिनेटमा बेनपा–२ का सुदिप सुनारले पहिलो गोल गर्दै अग्रता कायम गरेका थिए। सोही गोल उपाधिका लागी निर्णायक बन्यो।

विजेतासँगै वडा नं. २ को समूहले नगद एक लाख, मेयर कप, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. १० को समूहले नगद ५० हजार, रजत पदक र प्रमाणपत्र पाएको छ।

फाइनल खेलको म्यान अफ द म्याच र सर्वाधिक गोल कर्ता बनेका बेनपा–२ का खेलाडी सुदिप सुनार र उत्कृष्ट खेलाडी घोषित भएका बेनपा–१० का रवि गुरुङले नगद ५/५ हजार र स्वर्णपदक हात पारे।

नगर खेलकुद विकास समितिको आयोजना र  बेसीशहर नगरपालिकाको प्रायोजनमा सञ्चालित खेलमा नगरपालिका भित्रका ११ वडाको समूहले सहभागिता जनाएको समितिका अध्यक्ष सिजन श्रेष्ठले बताए।