काठमाडौँ– शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै लगानीकर्ता आन्दोलित बनेका हुन् ।
आर्थिक विधेयकमार्फत सरकारले व्यावसायिक सेयर कारोबारसरह नै कर तिर्नुपर्ने जनाएपछि लगानीकर्ता केही दिनदेखि आन्दोलित छन् ।
उनीहरूले सरकारलाई करको दर परिमार्जन नगरी विद्यमान व्यवस्था लागू गर्न दबाब दिने उद्देश्यले ब्रोकर कार्यालयहरूमा ताला लगाएका हुन् ।
लगानीकर्ताले विद्यमान पुँजीगत लाभकर दीर्घकालीन ५ र अल्पकालीन ७ दशमलव ५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लिएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले भने बुधबार नै सेयर कारोबारमा कुनै प्रकारको कर नलगाएको प्रस्टीकरण दिएका थिए । तर पनि लगानीकर्ता करको विषयलाई लिएर आक्रोशित छन् ।
हाल तिर्दै आएको पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा लगानीकर्ता दुबिधामा छन् । पुँजीगत लाभकरलाई नै अन्तिम कर नमानेसम्म आफूहरूको आन्दोलन नरोकिने उनीहरूको भनाइ छ ।