ब्रेकिङ स्टोरी

नागरिकता विधेयकविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

By खबरहब

June 04, 2023

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ ।

विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

रिटमा अघिल्लो संसद्बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको उल्लेख गर्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।

रिटमा नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश समेत माग गरिएको छ ।

नयाँ संसद् स्थापित भइसकेको अवस्थामा अघिल्लो संसद्ले पठाएको विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिको उक्त कदमको विरोध भइरहेको छ ।

राष्ट्रपति पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको विधेयक राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।