देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

June 04, 2023

आज दिनभर नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित, राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित, गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलिलाई पेसी तोकियो, राष्ट्रपतिद्वारा छ देशका लागि राजदूत नियुक्त, ‘समग्र हितको रक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ,’ रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रणको माग गर्दै संकल्प प्रस्ताव दर्ता, राष्ट्रिय योजना आयोगले पायो पूर्णता, पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, ११ घाइतेलगायतका समाचारले प्रमुख स्थान पाए ।

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार यो आदेश दिएको हो ।

विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । रिटमा अघिल्लो संसद्बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको उल्लेख गर्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।

रिटमा नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश समेत माग गरिएको छ । नयाँ संसद् स्थापित भइसकेको अवस्थामा अघिल्लो संसद्ले पठाएको विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिको उक्त कदमको विरोध भइरहेको छ ।

प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोध गरेपछि रोकिएको प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

विपक्षी दलहरूको अवरोधका कारण बैठक सञ्चालन हुन नसकेपछि संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी दिएको हो ।

यसअघि आज बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए ।

विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।

राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पाण्डेको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । पहिलो बैठक एमालेसहितका प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएर बसेको दोस्रो बैठकले पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

आइतबारको बैठकको कार्यसूचीमा रहेका क्रमश संख्या १, २ र ३ नम्बरका कार्यक्रम हटाएर दोस्रो बैठक बसेको हो । दोस्रो बैठकले शोक प्रस्ताव पारित गरेर सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो ।

गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलिलाई पेसी तोकियो रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ ।

त्रिभुवन साहसमेतले रिट दर्ता गरेका हुन् । ७ चैत २०६३ मा भएको सो घटनामा २८ जनाको मारिएका थिए ।

रौतहटको गौरस्थित चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा निधन भएको थियो ।

राष्ट्रपतिद्वारा छ देशका लागि राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, भरतकुमार रेग्मी अष्ट्रिया, मिलनराज तुलाधार रुसी महासङ्घ, प्रा डा राम स्वार्थ राय डेनमार्क र सुशीलकुमार लम्साल इजिप्ट रहेका छन् ।

त्यसैगरी उल्लेखित राजदूत क्रमशः पौडेललाई ब्रुनाई दारुसलाम, काफ्लेलाई गणतन्त्र चिलि, रेग्मीलाई क्रोएसिया, तुलाधारलाई गणतन्त्र काजखस्तान, रायलाई लितुआनिया र लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

समग्र हितको रक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुने बताएका छन् ।

नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति लगायतका विषयमा संसद् अवरोध भएपछि अध्यक्ष ओलीले संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्‍त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन् । उनले राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि सेटल हुने बताए ।

प्रतिपक्षी दलहरूले विरोधका कारण संघीय संसद्को दुई सदनको बैठक अवरुद्ध भएको थियो ।

रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रणको माग गर्दै संकल्प प्रस्ताव दर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेङ्गु रोग फैलन नदिन यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएको सो पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए ।

गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोग फैलिएको, २८ हजार एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको उल्लेख श्रेष्ठले यो वर्ष बेलैमा सावधानी अपनाउन माग गरेका छन् ।

‘यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसद्बाट निर्देशन जारी हुन आवश्यक देखिएको छ’, संकल्प प्रस्तावमा भनिएको छ ।

संकल्प प्रस्तावमा डेङ्गु रोगका विषयमा व्यापक जनचेतना जोगाउनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न, रोग सार्ने लामखुट्टे नियन्त्रणका लागि जनस्वास्थ्य निरीक्षकलाई देशभर परिचालन गर्न सरकारलाई निर्देशन दिन माग गरिएको छ ।

त्यस्तै वर्षायाम सुरु हुनुअगावै महामारी रोकथाम एवं प्रतिकार्यका लागि आवश्यक तयारी गर्न, उपचारका लागि अस्पतालको क्षमता वृद्धि गर्न र निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र अन्य सङ्घसंस्थाको साधनस्रोत र क्षमताको अत्यधिक परिचालन गर्न पनि निर्देशन माग गरिएको छ ।

राष्ट्रिय योजना आयोगले पायो पूर्णता नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

नवनियुक्त सदस्य ढुंगानाले आज आयोगका उपाध्यक्ष डा मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको शपथ लिए । यही जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको महिला सदस्यका रुपमा ढुंगानालाई नियुक्त गरेको थियो । सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय ढुंगानासँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युनडिपी० मा समेत काम गरेको अनुभव छ । उनले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेका छन् ।

यसअघि आयोगको सदस्यमा डा रामकुमार फुयाँल, डा जयकान्त राउत, डा प्रभु बुढाथोकी, डा आरपी विच्छा र डा रमेश पौडेल नियुक्त भइसकेका छन् । नवनियुक्त सदस्य ढुंगानाले आयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छन् ।

यसअघि नियुक्त भइसकेका सदस्यमध्ये डा फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा विच्छालाई स्वास्थ्य तथा जनसङ्ख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ ।

कर्णालीको नीति तथा कार्यक्रम सार्वजानिक कर्णाली प्रदेश सरकारले अर्ग्यानिक प्रदेशको योजनालाई पुनः निरन्तरता दिएको छ । आइतबार आर्थिक वर्ष २०८०(०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख तिलक परियारले अर्गानिक प्रदेशको योजनालाई निरन्तरता दिइएको जानकारी दिए ।

नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा परम्परागत कृषि प्रणाली निरुत्साहित गर्दै प्रतिस्पर्धात्मक, जलवायु अनुकुलन र उत्थानशील बनाई अर्गानिक प्रदेशको रूपमा विकास गरिने बताइएको छ । कृषि अभियानलाई सफल पार्न स्थानीय तहको सहलगानीमा मल उत्पादन कारखाना स्थापना गरिने छ । पशुपक्षी विशेष क्षेत्र तोक्ने, कृषकलाई कलस्टरगत खेती तथा प्रोत्साहित गरिने योजना रहेको प्रदेश प्रमुख परियारले बताए ।

कृषि तथा पशुप्रविधिलाई कृषकलाई कृषि प्राविधिक परिचालन कार्यक्रम लागू गर्नेदेखि ‘कर्णालीले जे बेच्छ मूल्यवान उपज बेच्छ’ भन्ने अवधारणा अनुसार मूल्यवान लोगो प्रदान गर्ने तथा ब्राण्डिङ्ग, लेवलिङ र गुणस्तर लोगो प्रदान गर्ने कार्यक्रमको निरन्तरता दिइएको छ ।

यस्तै उत्पादनमुखी कृषकलाई प्रोत्साहन भन्ने मूल्यका साथ परिणाम तथा नतिजामा आधारित उत्पादन, संकलन, ढुवानी र बजारीकरणमा सहयोग गरिनेछ । उद्योग स्थापनाका लागि लागत र परिणामको आधारमा स्थानीय तह, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । माछा, मासु, दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषि तथा पशुपक्षी बीमालाई थप प्रभावकारी बनाइने छ भने बैंक तथा वित्तीय संस्थाबाट दिएको कर्जालाई भूमिहीन, सीमान्तकृत कृषकलाई प्रोत्साहन गर्न लक्षित वर्ग कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

सुर्खेतस्थित पशुपंक्षी अस्पताललाई प्रदेशस्तरको लिबरल अस्पतालको रूपमा विकास गर्न संघसँग समन्वय गरिनेछ । वैदेशिक रोजगारबाट फर्किएकालाई ज्ञान, सीप प्रविधि र वित्तीय पहुँचसहितको कार्यक्रममा प्रोत्साहन गरिने उल्लेख छ । कृषकलाई परिचय पत्र वितरण गरिने नीति तथा कार्यक्रम रहेको छ । सहिद घाइते परिवारलाई कृषिमा आकर्षित गर्न बिउ वितरण गरिनेछ । भू–उपयोग गुरुयोजना कार्यान्वयनमा ल्याइनेछ । उत्पादनमूलक सहकारी प्रवर्द्धनमा विशेष जोड दिइने उल्लेख छ । मझौला तथा साना उद्योगलाई व्याज अनुदान कार्यक्रम निरन्तरता दिनुका साथै छिन्चुदेखि मेहेलकुना क्षेत्रलाई औद्योगिक कोरिडोर निर्माण गरिने जनाइएको छ ।

उत्पादन सहकारी मार्फत तुलनात्मक लाभको क्षेत्रमा सामुदायिक लाभ स्थापना गर्न एक वडा एक उत्पादन अवधारणा कार्यान्वयन गरिनेछ । सार्वजनिक–निजी साझेदारीमा आधारित जडीबुटी, मसला उन तथा रेसादार वस्तु प्रशोधन उद्योग अगाडि बढाइने बताइएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा तीन तारे होटेल निर्माण गरेका त्यहाँसम्म पुर्याउने पूर्वाधारको विकास गरिदिने भएको छ । प्रदेश प्रमुख तिलक परियारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले एक जिल्ला एक उद्योग ग्राम स्थापना गरिने प्रावधान लागू गरिने समेत बताए । त्यस्तै वन पैदावारमा आधारित उद्योगलाई मेसिनरी वस्तुमा सहयोग गरिने समेत प्रदेश प्रमुख परियारले बताए ।

कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुनः ल्याएको छ । यसअघि पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको च्याप्टर क्लोज गरेका थिए । भेरीगंगामा नयाँ विमानस्थल निर्माण गर्ने भनिएको छ । तर, निजी क्षेत्रले नयाँ विमानस्थल निर्माण गर्न समय लाग्ने भएको भन्दै वर्तमान विमानस्थललाई नै विस्तार गरिनुपर्ने बताउँदै आएका थिए ।

विमानस्थल विस्तारका लागि संघीय सरकारसँग सहकार्य गरिने बताएको छ । उनले प्रदेशभित्र उत्पादनमूलक उद्योग स्थापना गरेमा त्यहाँसम्म पुग्ने, बाटो लगायतका पूर्वाधारको विकास प्रदेश सरकारले गरिदिने समेत बताए । रारा, से फोक्सुण्डो, पञ्चकोशी, पचालझरना लगायतका महत्वपूर्ण पर्यटकीय स्थलमा होमस्टेको योजना लागू गरिने परियारले बताए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा आकाशे पुलको निर्माण गरिने भएको छ । आइतबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आकाशे पुल निर्माणबारे जानकारी गराएका हुन् ।

उनले सम्भाव्यताका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बताए । साथै वीरेन्द्रनगरका सडकहरूमा ट्राफिक बत्तीको व्यवस्थापन गर्नुका साथै प्रदेश सरकार तथा स्थानीय तहको सहकार्यमा आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण गरिने उनले बताए ।

पाल्पामा जिप दुर्घटना स् ३ जनाको मृत्यु, ११ घाइते पाल्पामा आज बेलुकी जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन भने उनीहरूको पहिचान खुलेको छैन ।

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । घाइते भएकाहरूलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको स्थानीयले बताएका छन् ।

घाइतेहरुलाई जंगल र भीरबाट सडकसम्म ल्याएर अस्पताल पठाउने कार्य भइरहेको छ । प्रहरीको टोली पनि घटनास्थलमा पुगेको छ ।

सेयर बजारमा ५३.०३ अंकको वृद्धि सरकार र लगानीकर्ताबीच सहमति भएपछि सेयर बजारमा उत्साह छाएको छ । आइतबार नेप्से सूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा आइपुगेको छ । १ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार हुँदा ३ कम्पनी सकारात्मक सर्किटको लेबलमा कारोबार भएको छ ।

यसअघि करका विषयमा अन्योलता बढ्दा बजार ३ दिनमै बेस्सरी प्रभावित भएको थियो । आइतबार अर्थ मन्त्रालयमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने स्पष्ट पारे । त्यतिमात्र होइन, यसमा अर्थ मन्त्रालयले लिखित विज्ञप्ति नै जारी गरेको छ ।

यस्तै, अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच हस्ताक्षरसमेत भएको छ। यही खबर बाहिर आएपछि सेयर बजारमा रौनकता छाएको हो । अब सरकारले विद्यमान पुँजीगत लाभकरका दरलाई नै अन्तिम कर मान्नेछ । सरकारसँग सहमति हुनुअघि लगानीकर्ताले ५० वटै ब्रोकर कार्यालय बन्द गराएका थिए ।

यस दिन २७० कम्पनीको ४५ लाख ५७ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड ८१ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र चिलिमे हाइड्रोपावर बढेका छन् ।

पन्ध्र मुर्रा राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार गरिने भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ ।

वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगाबाट तीन वर्षपश्चात वार्षिक कम्तीमा एक लाख ५० हजार डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै भएको भारत भ्रमणका दौरान भारत सरकारबाट नेपाललाई मुर्रा राँगो उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको थियो ।

मन्त्रालयले सो विषयका सन्दर्भमा थप स्पष्ट पार्दै यसअघि सन् २०१८ मा नेपालमा भएको नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयानुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिकरअनौपचारिक तवरबाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराउन अनुरोध गरिएको जनाएको छ ।