सांकेतिक तस्बिर

देश/प्रदेश

आगलागीले एक घर जलेर नष्ट

By खबरहब

June 04, 2023

काठमाडौँ – ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो ।

आज दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको छानो भएको कच्ची घर जलेको मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले जानकारी दिए । समयमा नै आगो नियन्त्रण नहुँदा घरसहित घरभित्र रहेका सम्पूर्ण घरायसी सामान पूर्णरूपमा जलेर नष्ट भएको बताइएको छ । क्षतिको विवरण भने एकिन भएको छैन ।

आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । आगलागी पीडित परिवारलाई गाउँपालिकाले केही नगदसहितका राहत सामग्री वितरण गर्ने तयारी भएको अध्यक्ष हाङ्गामले बताए । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

विद्युत् सर्ट भएरै केही दिनअघि फुङलिङ नगरपालिका पनि एक घर जलेर नष्ट भएको थियो । पछिल्लो समय यस जिल्लामा विद्युत् सर्ट भई आगलागीका घटना हुने क्रम उल्लेख्य रहेको पाइएको छ ।