औषधी/उपचार

दाँतमा किरा लाग्ने समस्या र यसको उपचार

By खबरहब

July 04, 2023

शरीरको जति महत्त्व रहेको छ त्यति नै दाँतको पनि रहेको छ। दाँत संवेदनशील अंग हो। दाँत मानव शरीरको मुखभित्र रहेको सबैभन्दा कडा संरचना हो। दाँतले खाना चपाउने वा टोक्ने मात्र होइन, बोलीलाई स्पष्ट पार्ने कामसमेत गर्छ। त्यसकारण पनि मानव स्वास्थ्यका लागि दाँतको महत्त्व धेरै छ। दाँतले सौन्दर्य झल्काउनेदेखि लिएर दैनिक रूपमा खाएको खानालाई राम्ररी चपाएर पचाउन मद्दत गर्दछ। दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या निम्तिने गरेका छन्। दाँतमा के कस्तो लापरबाहीले समस्या सिर्जना हुन्छ ? दाँतलाई कसरी सफा गर्ने ? लगायतका विषयमा आधारित भएर दन्त चिकित्सक डा. रुबिस प्रजापतिसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंशः

दाँतमा धेरै कस्ता समस्या देखिन्छन् ? दाँतको समयमा हेरचाह नगर्दा विभिन्न समस्या देखापर्ने गरेका छन्। दाँतका कारण मुखको रोग पनि देखापर्छ। यो एउटा त जनचेतनाको अभाव पनि हो। तर कतिपय मानिसमा समस्या भए पनि ध्यान नदिने भएको कारणले पनि धेरै समस्या भएको छ। दाँतमा धेरै किरा लागेर दुख्ने, गिजाको समस्या हुने तर समयमा थाहा नै नहुने पनि हुन्छ। दाँतको हेरचाहमा लापरबाही गरेकै कारण दाँत दुख्नेसँगै गिजा सुन्निने र दाँतमा किरा लाग्ने जस्ता रोगको पनि सामना गर्नुपरेको हो। मान्छेहरू दाँत धेरै नै हल्लिन थालेपछि र रगत बग्दै गएपछि मात्र उपचारमा आउनु हुन्छ। त्यो राम्रो होइन। दाँताको समयसमयमा उपचार गर्नुपर्छ।

दाँतको हेरविचार नगर्दा कस्ता रोग लाग्दछन् ? नेपालमा थोरै दाँत दुख्यो भने पनि दुखाई कम गर्ने औषधि खाने गर्छौँ। डाक्टरको परामर्श बिना नै खाइने यस्ता औषधीले शरीरमा विभिन्न किसिमका रोगहरू निम्त्याउन सक्छन्। यदि हाम्रो दाँत र खाना खाने मुख नै स्वच्छ छैन भने, खाएको खानाले शरीरमा फाइदा दिन्छ भन्नै मिल्दैन। यसले गर्दा मुखमा गन्ध आउँने, पेटको समस्या, ग्यास्ट्रिकको समस्या, गिजासुन्निने, उमेर नपुगी दाँत झर्ने, जस्ता समस्या देखिने गर्दछन्। मुख दाँत सफा भएन भने पेट पनि सफा हुँदैन।

साना बालबालिकामा के कारणले दाँत किराले खान्छ ? पछिल्लो समय बालबालिकालाई बाहिरबाट आएका खाना रिफाइन खाना धेरै खुवाउने र धेरै गुलिया चकलेट मिठाइहरू खुवाउँदा लामो समयसम्म त्यो खाना दाँतमा अड्किएर बस्छ। त्यसले दाँतमा धेरै समस्या देखिएको छ। धेरै थरीका ब्रसले दाँत माझ्दा पनि दाँतमा समस्या आएको छ। राम्ररी सफा नगर्दा वा खाना खाइसकेपछि कुल्ला नगर्दा त्यही खाना दाँतमा टाँसिराख्ने हुन्छ। त्यसले गर्दा मुखमा ब्याक्टेरिया धेरै भएर ब्याक्टेरिया इन्फेक्सन दाँतमा सर्दै जाने हो। त्यसलाई नै दाँतमा किरा लागेको भन्ने गरिन्छ।

बजारका खाना र चकलेटको कारणले हो त दाँतमा किरा लाग्ने ? बजारमा पाइने खाना र अरु चकलेट खाँदा त्यसले नै किरा लाग्ने होइन। तर, यो खाएर सफा गरेन भने किरा लाग्छ। त्यसको लागि बिहान बेलुका दाँत सफा गर्नुपर्छ। साना बच्चालाई ६ महिनाको फरकमा दाँतको जाँच गराई रहने गर्नुपर्छ। किरा लागेर कालो हुनु भन्दा अगाडि नै उपचार गरियो भने रोकथाम गर्न सकिन्छ।

दाँतमा किरा लाग्नुको कारण के हो ? दाँतका किरा लाग्नुको मुख्य कारण हामीले खाएका खानेकुरा दाँतमा अड्किएर बस्नु हो। ती अड्केका खानेकुरा दाँतमा नै कुहिन र सड्न थाल्छन्। त्यसबाट हानिकारक ब्याक्टेरियाहरू बन्न थाल्दछन्। जुन हाम्रो आँखाले देख्न सक्दैनौ। त्यसैलाई हामी किरा लागेको भन्ने गर्दछौ। दाँतमा अड्किने खानेकुरा चकलेट लगायतले दाँतमा किरा लाग्ने गर्छ। यस्तै गहुँको मैदाबाट बनेका खानेकुरा खाँदा पनि दाँतमा किरा लाग्ने सम्भावना रहन्छ।

घरमा बसेर दाँतमा समस्या आयो भनेर कसरी थाहा पाउने ? मुख्य त देखिने ठाउँहरूमा सेतोपना छ कि छैन भनेर हेर्नुपर्छ। कालो भएको छ कि छैन भनेर समय समयमा हेर्नु आवश्यक हुन्छ। गिजामा पनि रातो हुन थाल्यो। ब्रस गर्दा रगत आयो भने जाँच गर्नुपर्दछ। सबै जनाले प्रत्येक छ महिनाको फरकमा दाँतको जाँच गर्नुपर्छ।

दाँतमा कस्तो हेल्चेक्रायाई गर्दा पछि जोखिम निम्तिन सक्छ ? हामी सबैले सुरुमा थाहा पाउने भनेको तातो चिसो खाँदा दाँत सिरिङ्ग हुने हुन्छ। यसलाई सामान्य भन्नु हुँदैन यसको समयमा उपचार गरेन भने तीन दिनसम्म एकैनासले दुख्छ र इन्फेक्सन हुन्छ। इन्फेक्सन धेरै भएर हड्डीमा पिप जमेर दुखिराख्ने, गालाहरू सुनिने, गिजाबाट पिप बग्ने हुन्छ र त्यो बेला दाँत नै गुमाउने सम्भावना हुनसक्छ। त्यति गर्दा पनि उपचार गरिएन भने, मुखको आकार बिग्रिने र शिष्ट ट्युमर पनि हुनसक्छ। लापरबाही गरेमा पछि दाँत नै फाल्नु पर्ने हुन्छ।

दाँत दुख्दा ल्वाङको तेलको प्रयोग गरिन्छ। यो कत्तिको फाइदाजनक छ ? हाम्रो नेपालका हरेक ठाउँका मानिसले दाँत दुख्दा ल्वाङको तेलको प्रयोग गर्ने गर्दछन्। यो तेलले क्षणिक रूपमा दुखाई कम भए पनि ल्वाङको तेल नै दाँत दुखाइको उपचार होइन। धेरै जनाले बोर्फिन पनि खानु हुन्छ। यो पनि दाँतको उपचार होइन। आपत्कालीन अवस्थामा यो तेलको प्रयोग गरेता पनि दन्त चिकित्सककोमा परामर्श लिन बिर्सनु हुँदैन।

एउटा दाँतको आयु कति हुन्छ ? बच्चामा आउने दुधे दाँत १२ वर्षसम्ममा साटिन्छ। त्यसपछि आएको दाँत जीवनभर रहन्छ। कतिपय अवस्थामा यो वंशाणुगत पनि हुन्छ। कसैको खाना अड्किँदा पनि किरा नलाग्ने हुन्छ। कसैको थोरै अड्किदा पनि किरा लाग्ने दुख्ने हुन्छ। छिटो दाँत झर्नु भनेको आफ्नो नै लापरबाहीको कारणले हो। एक पटक झरेर आएको दाँत पछि फेरि फर्केर आउँदैन। हामीले जन्मजात २० वटा दुधे दाँत र पछि ३२ वटा दाँत लिएर आएका हुन्छौँ। पछि कुनै दाँत निकाल्नु पर्यो र भने त्यसको अन्य उपाय उपचार हुन्छ जस्तो नक्कली दाँत राख्ने, इम्प्लान्ट लगाउने गर्न सकिन्छ। नत्र खाली थोते नै बस्नुपर्ने हुनसक्छ। तर, दाँत आउँदैन। सामान्य जराको समस्या छ भने आरसिटी गर्न सकिन्छ। धेरै नै बिग्रिएको छ भने कृत्रिम दाँत राख्नु पर्ने हुन्छ।

दाँत स्वस्थ राख्न कस्तो खाना खाने ? घरमा पाक्ने फाइबरयुक्त खाना खानुपर्छ। कार्बोहाइड्रेट युक्त खाना खाने, चकलेट बिस्कुट चाउचाउ कम खाने गर्नुपर्छ। दाल, भात, दूध खानु राम्रो हुन्छ।

दाँतलाई हामीले बिहानदेखि बेलुकासम्म कसरी सफा गर्ने ? दिनमा दुई पटक नरम ब्रसको प्रयोगले दाँत माझ्ने गर्नुपर्छ। दिनमा एक पटक १० मिनेट जति ब्रस गर्नको लागि समय दिनुपर्दछ। मन्जन पनि सानो केराउको दाना जति प्रयोग गर्ने। किनकी मन्जनमा पनि दाँत खियाउने समस्या हुन्छ। दाँत र गिजा दुबैलाई हुनेगरी मुखको चारैतिर ब्रस गर्नुपर्छ। ओठ गाला तलमाथि सबै ठाउँबाट दाँतको सफा गर्नुपर्छ। ६ महिनाको फरकमा एक पटक अनिवार्य रूपमा दाँतको जाँच गर्नुपर्छ।

दाँतमा कुनै पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ? सुरुमा ब्रस समयमा गर्ने, बारिहका पेय पदार्थ धेरै नखाने, समय समयमा दाँतको चेकअप गर्नुपर्छ। कति वटा अस्पतालमा दाँतको जाँच निःशुल्क पनि हुन्छ। बाहिरका केही खानाहरू खाने बित्तिकै कुल्ला गरिहाल्नुपर्छ। बिस्कुट, चाउचाउ, चाउमिन जस्ता मैदाले बनेका खानेकुरा कम खाने गर्नुपर्छ। खासको समयमा राम्ररी कुल्ला गर्ने बानी गर्नुपर्छ।