देश/प्रदेश

तिनाउ नदीमा पानीको बहाब खतराको विन्दु माथि

By खबरहब

July 04, 2023

रूपन्देही– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षाका कारण रूपन्देहीमा तिनाउ नदीले खतराको विन्दु पार गरेको जनाएको छ । 

पाल्पा र रूपन्देहीमा निरन्तर वर्षा हुँदा पानीको सतह बढेकाले उच्च सतर्कता अपनाउन नदी आसपास क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । 

बाढी मापन केन्द्र बुटवलका अनुसार तिनाउ नदीमा बिहान ७ बजे पानीको सतह ७ दशमलव २२ मिटर पुगेको छ । जलसतह ५ दशमलव २ मिटरलाई सतर्कता तह मानिन्छ । 

महाशाखाले स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपासका क्षेत्रमा भारी वर्षा भएको जनाएको छ । उक्त स्थानका खहरे खोलाहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्क रहन सबैमा आग्रह गरिएको छ ।