फाइल फोटो

ब्रेकिङ स्टोरी

सभामुख घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्दै, संसदीय समितिबारे कुरा हुने 

By खबरहब

July 04, 2023

काठमाडौँ– सभामुख देवराज घिमिरेले आज मुख्य तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । 

सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा बिहान ११ बजे प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । 

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको पनि सहभागिता रहने बताइएको छ ।

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटकपटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् ।