अन्तर्राष्ट्रिय

बर्लिनमा सडक विस्तारको विरोध

By मनोज घिमिरे

September 04, 2023

आइतबार ठुलो जनसमूहले बर्लिनको सडकमा उर्लिएर जलवायु परिवर्तनको विषयमा प्रदर्शन गरे। धुवाको चिम्नी, चम्किलो डल्लो पदार्थ र पेय पदार्थ राख्ने भाँडो सडकमा ल्याएर प्रदर्शन गरिएको थियो। पूर्वी बर्लिनको फ्रेडिस्चेन सडकमा हजारौँ जलवायु अभियन्ता आएर प्रदर्शन गरेका हुन्।

बर्लिनका अधिकारीकै अनुमतिमा शनिबार साँझ र रात्रिमा बर्लिनको सडक बन्द गरिएको थियो। प्रदर्शनकारीले बर्लिनको मूल सहरबाट गाउँमा जोड्ने मूल सडकमा पनि अवरोध सिर्जना गर्न खोजेका थिए। तथापि यो सम्भव भएन। त्यो ‘ए १००’ सडक अहिले बढाइने क्रममा छ। त्यसले २० क्लब तथा सांस्कृतिक स्थान ध्वस्त हुँदैछन्।

नियमित क्लबमा गएर रमाइलो गर्न चाहने एक महिलाले त्यसलाई दुःस्वप्नको संज्ञा दिएकी छिन्। त्यहाँ बाटो फराकिलो बनाउने क्रममा त्यस किसिमको सडक आवश्यक नभएको उनले बताएकी छिन्। ‘सरकारी सवारी साधनको राम्रो उपयोग हुँदा हुँदै यसरी सडक बनाउन आवश्यक नै थिएन’, उनले भनिन्।

त्यस क्लबमा डिजेको काम गर्ने एम्पारिया सडकमा कुर्ली रहेकी थिइन्। उनको आक्रोश पनि क्लब भत्किएको भन्दा बढी सम्पदा भत्किएकोमा हो। त्यस क्लब त्यहाँ राखिनुको उद्देश्य ‘ए १००’ बढाउनुबाट रोक्नका लागि पनि हो। अहिले बाटो बढाइएपछि त्यहाँको आक्रोश जताततै बढेको छ।

जर्मनीका यातायात मन्त्री भोल्कर विसिङ र बर्लिनका मेयर काइ वेग्नरले त्यहाँ जनसङ्ख्या बढ्दै गएको र कारको चाप पनि बढेका कारण सडक फराकिलो बनाउनु परेको बताए। त्यो सडक फराकिलो बनाएपछि सिङ्गो सहरमा ट्राफिक व्यवस्थापन सहज हुने उनीहरूको मत छ।

प्रदर्शनकारीले पूर्वी बर्लिनमा ‘ए १००’ सडक विस्तार गरेपछि अहिलेको भन्दा बढी जाम हुने आशय व्यक्त गरेका छन्। राजमार्गको पाँच किलो मिटरको दुरी बढाउनका लागि १ बिलियन युरो लाग्नेछ। ‘बर्लिनमा रहेका मेरा उमेरका धेरै जनाले यो नचाहिँदो र वाहियात उपाय भएको ठहर गरेका छन्’, २१ वर्षीया क्लाराले भनेकी छिन् ‘यो जर्मनीकै सबैभन्दा महंगो सडक परियोजना हो।’

उनको आक्रोश त्यत्ति छकी त्यो पैसाले बर्लिनबाट बेइजिङसम्म साइकल लेन नै किन्न सकिन्छ। ‘ए १००’ बर्लिनको सबै भन्दा व्यस्त सडक संयन्त्र हो। यसले पश्चिम जर्मनीलाई घेरेर राखेको छ। त्यसै सडकको आवाजले पश्चिम बर्लिनलाई नै प्रभावित पारिरहेको हुन्छ।

सन् १९५८ मा पश्चिम बर्लिनमा त्यो राजमार्ग बनाउन सुरु गरिएको हो। पछि त्यो सहर नै पूर्व र पश्चिम जर्मनीको विभाजनसँगै पश्चिममा मात्र सीमित भएको थियो। त्यसपछि लामो समय जर्मनी एकीकरणपछि यसको विस्तार भएको हो।

सडकको सुरुवाती बिन्दु अटोबान पश्चिम जर्मनीको युद्ध केन्द्रकै रूपमा रहेको थियो। यो सहर र केन्द्रीय पुँजीवादी संयन्त्रको मिथक नै मानिन्छ। त्यो सहर पनि कुनै समय युद्धका कारण भग्नावशेष जस्तो भएको थियो। अहिले त्यो कारको सहर बनेको छ।

सन् १९९१ मा बर्लिनको पर्खाल भत्किएर जर्मनी एकीकरण भएको होे। त्यसपछि पूर्व र पश्चिममा यातायातको विस्तार एउटा चुनौती नै बनेको थियो। यसै चुनौतीका बिचमा सन् १९९९ मा यस सडक विस्तारको काम सुरु भएको हो।

सडकमा प्रदर्शन गर्नेले सङ्गीतसहित १९९० होइन १९५० मै फर्कन खुसी हुने बताएका छन्। यो प्रदर्शन जर्मनीमा बढ्दो कारको प्रचलनको विरुद्धमा पनि हो। कन्जरभेटिभ, लिबरल र उग्र दक्षिणपन्थी नेतृत्व कार चालकका लागि बढी सुविधा उपलब्ध गराउन चाहन्छन्। ग्रिन र वामपन्थी कार र सवारी साधनलाई बढी ध्यान दिँदा वातावरणमा समस्या आउने बताउँछन्। उनीहरू पेट्रोलियम पदार्थबाट चल्ने यातायातलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिन्छन्।

यो लडाइँले जर्मनी र सिङ्गो देशमा नै तनाव सिर्जना गरेको छ। यो सडक बढाइएपछि समस्यामा पर्ने एउटा क्लब एबाउट ब्ल्यान्ककी प्रवक्ता एलीसाबेथ सटेफन बताउँछन्। उनले केही पुरातनवादी सोच भएकाले अहिलेको समस्या नबुझेका कारण यो समस्या आएको बताएकी छिन्। अहिले जर्मनी मात्र होइन सिङ्गो संसारको समस्या नै जलवायु परिवर्तन हो।

यो प्रदर्शनले एक दिन भए पनि बर्लिनलाई केही हदसम्म चिसो बनाएको छ। सायद यस प्रदर्शनको मर्म बुझे जर्मनी सधैँ राम्रो हुने मत उनीहरूको छ। धेरै जलवायु अभियन्ताले जर्मनीले पेरिस सम्झौतामा गरेको प्रतिबद्धता पनि यसै गतिविधिका कारण पुरा नहुने जोखिम देख्छन्।

जर्मनीले सन् २०४५ कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको थियो। सन् १९९० को तहमा पुग्नका लागि २०३० मा ६५ प्रतिशत घटाउने नीति लिएको थियो। सन् २०४० मा ८८ प्रतिशत घटाउने जर्मनीको लक्ष्य थियो।

जर्मनीमा पहिलो पटक जलवायु कानुन सन् २०१९ मा बनेको थियो। यसलाई सन् २०२१ मा परिमार्जन गरिएको थियो। सन् २०३० मा यातायात र उद्योगमा कार्बन उत्सर्जन हटाउनका लागि यो नयाँ नियम ल्याइएको हो। यो सबै युरोपियन ग्रिन हाउस रिडक्सन योजनामा समावेश भएका छन्। जर्मनीको लक्ष्यमा अहिले पेट्रोलियम पदार्थबाट चल्ने कार नै बाधक भएका छन्। यसै कारण अभियन्ताहरू विद्युतीय सवारी साधनको आवाज उठाइ रहेका छन्।

त्यसो त जलवायु परिवर्तनको मुद्दाको सवालमा जर्मनी एकदमै पछि भने होइन। यहाँ कानुन बनाउने सवालमा र लक्ष्य राख्ने सवालमा जर्मनी अन्य धेरै भन्दा अघि छ। युरोपेली युनियनले २०५० को कुरा गरीरहेको समयमा जर्मनी आफैले राष्ट्रिय रूपमा त्यस भन्दा अगाडि नै लक्ष्य राखेको हो।

धेरै देशले यसरी वातावरण सुधार गर्नका लागि कार्बनडाई अक्साइड मात्र शून्यमा झार्ने नीति लिएका छन्। युरोपेली युनियन र जर्मनीले भने सबै ग्रिन हाउस शून्यमा झार्ने नीति लिएका छन्। अहिलेको मानव स्वभावका कारण पनि तीन दशक भन्दा अगाडि कुनै पनि देशमा कार्बन उत्सर्जन शून्यमा झर्ने सम्भावना देखिँदैन।

यी सबै कुरामा जर्मनी अन्य धेरै विकसित देश भन्दा अघि रहेको छ। परन्तु सडक विस्तार जलवायु र संस्कृति दुवैको जगेर्नाको हिसाबले गलत रहेको मत त्यहाँका बासिन्दाको छ। स्रोतः बीबीसी, क्लीन इनर्जी वायर