फाइल फोटो

देश/प्रदेश

जलस्रोत अनुसन्धान विकास केन्द्रका अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

By खबरहब

September 04, 2023

काठमाडौँ- जलस्रोत अनुसन्धान विकास केन्द्र पुलचोकका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध मंगलबार गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । २०५३ जेठ १७ देखि २०७९ मंसिर २८ सम्म कार्कीले आर्जन गरेको सम्पत्ति अनुसन्धान गर्दा वैध आय १ करोड ८ लाख ४८ हजार ५ सय ९० मात्रै देखिएको अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय माग दाबी गरेको छ । सम्पत्ति जफतका लागि अख्तियारले कार्कीकी पत्नी उर्मिला थापा कार्कीलाई समेत प्रतिवादी बनाइएको छ ।

अनुसन्धानका क्रममा उनको परिवारका नाममा ५ करोड ७५ लाख ८७ हजार ३ सय ७० रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ । कार्कीले घर निर्माण, जग्गा खरिद तथा विभिन्न कम्पनीमा सेयर लगायतमा स्रोत नखुलेको सम्पत्ति जोडेको पनि भेटिएको छ ।