प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

रुकुम पश्चिममा न्याउला खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु

By खबरहब

September 04, 2023

काठमाडौँ- रुकुम पश्चिमको चौरजहारीस्थित न्याउला खोलाले बगाउँदा एकै घरका दाजुबहिनीको ज्यान गएको छ । चौरजहारी नगरपालिका ६ का रत्न बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावना बुढाथोकीको खोलाले बगाएर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार आइतबार दुबै जना दाजुबहिनीको आधारभूत विद्यालय घर्तिकाँडाबाट घर फर्किँदै गर्दा खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । मनोज ३ कक्षामा अध्ययनरत थिए भने भावना १ कक्षामा पढ्दै आएकी थिइन् ।

उनीहरूलाई खोलाले बगाएको सूचना पाएपछि स्थानीय र प्रहरीले खोजी गर्दा मनोजको शव खोलाबाट १ सय ५० मिटर तल भेटिएको थियो । भावनाको शव भने ८ सय मिटर तल भेटिएको प्रहरीको भनाइ छ ।