देश/प्रदेश

मकवानपुरमा गाडी पल्टिँदा एक जनाको मृत्यु

By खबरहब

October 04, 2023

हेटौँडा– मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका–९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो । 

बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडि गाडी पल्टिएको र तत्कालै उद्धार गरेर चालक लामालाई अस्पताल पुर्‍याउँदा हेटौँडा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जानकारी दिए । उनका अनुसार सोही स्थानका सहचालक प्रेम अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।

अध्यक्ष घलानले नेकपा माओवादी केन्द्रको बाग्मती गाउँपालिका अध्यक्ष अरुण बल, पालिकाका कृषि शाखाप्रमुख वीरेन्द्र समालसहित हेटौँडा जाँदै गर्दा उक्त गाडी खसेपछि प्रहरी चौकी गरगरेमा जानकारी गरी उद्धारमा खटिएको जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दूध लिनका लागि हेटौँडाबाट बकैया गाउँपालिकातर्फ गइरहेको गाडी ओरालोमा अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।