राजनीति

कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य : नेता कोइराला

By खबरहब

October 04, 2023

भैरहवा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसकेको बताएका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कांग्रेसको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने बताए ।

कार्यक्रममा नेता कोइरालाले सरकार जतिदिन राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता र राजनीतिक अवस्था कमजोर हुँदै जाने जिकिर गरे । कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसकेको कोइरालाको भनाइ छ ।

कोइरालाले सरकारको हेपाहा र बलमिच्याईका कारण चर्को महंगी सिर्जना भएको भन्दै जनताको चुलो नबल्ने अवस्थामा पुगेको आरोप लगाए । चाडपर्वमा सहुलियत दिनुपर्नेमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्नु राम्रो संकेत नभएको उनको भनाइ छ ।

उनले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत तरिकाले सञ्चालन नगरेका कारण पार्टी अप्ठ्यारोमा परेको बताए ।