देश/प्रदेश

ट्रकको ठक्करबाट भारतमा एकै परिवारका ५ नेपालीको मृत्यु

By खबरहब

November 04, 2023

सुर्खेत– ट्रकले ठक्कर दिँदा भारतमा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँचजनाको मृत्यु भएको छ ।

भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा हिजो ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँचजना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्खेत चौकुने–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवारसहित उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने–७ का वडाध्यक्ष धनिराम धमलाले बताए ।

मृतक रतनका दाइको एक अस्पतालमा उपचार भइरहेको र बिरामी दाइलाई भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाले जानकारी दिए ।

मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारत गएका थिए । चौकुने घरमा बुढा बुबाआमा मात्रै रहेको जनाइएको छ ।

बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमलाले बताए । घटनाको अनुसन्धानका लागि त्यहाँको प्रशासनसँग माग गरिएको जनाइएको छ ।