अन्तर्वार्ता

राष्ट्र निर्माताको लागि एक दिन बिदा दिनुपर्छ

By खबरहब

January 05, 2023

नयाँ सरकार गठन भए पनि यसले पूर्णता पाएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका अन्य राजनीतिक दलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको समर्थनका लागि आउँदो पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने र राष्ट्रिय एकता दिवस मनाउनु पार्ने महत्त्वपूर्ण शर्त अगाडि राखेको छ। यो शर्तलाई प्रचण्डले मान्ने या नमान्ने दोधारमा परेका छन्। के राष्ट्रिय प्रजातन्त्र पार्टी त्यही शर्तका लागि सरकारलाई समर्थन गरेको हो ? यो शर्त पालना भएको अवस्थामा राप्रपा सरकारबाट बाहिरिन्छ त ? यिनै विषयमा आधारित रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् बागमती प्रदेश सभा सांसद भुवन पाठकसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंहरूको समर्थन माओवादीलाई हो कि नेकपा एमालेलाई ? हाम्रो समर्थन राजनीतिक स्थिरताको लागि हो। कुनै एमाले माओवादीका लागि होइन। यो सरकार नबनेको भए राजनीतिक अस्थिरताको सम्भावना थियो। मुलुकको आर्थिक अर्थतन्त्र धेरै खच्किएको बेला फेरि चुनावमा जानु पर्याे भने मुलुकलाई अहित गर्दछ भनेर हामीले सरकार निर्माणमा सहयोग गरेका हौँ।

राप्रपाले अहिलेको सरकालाई समर्थन गर्नुको पछाडि शर्त राखेको सुनिन्छ, त्यो शर्त पुरा नभए के हुन्छ ? नेपाली जनताको सेवा सुविधा, भ्रष्टाचारलगायतका समग्र विषयलाई पुरा नगरी सरकारमा सहभागी नहुने भनेका छौँ। राष्ट्रका निर्माता तथा मुलुक एकीकरण गर्ने पृथ्वीनारायण शाह जस्तो मान्छेको लागि एक दिन बिदा दिनु कुनै नौलो कुरा होइन। पृथ्वीनारायण शाह हामी सबैका अभिभावक हुन्। पुस २७ मा बिदा दिने कुरा छ। यो कुनै नौलो र ठूलो कुरा होइन। तर, यो महत्त्वपूर्ण विषय हो। देश निर्माण गर्ने कुरा कुनै सानो कुरा होइन। हाम्रोमा अरू बिदा पनि दिएको छ। त्यसमा पनि पुष्पकमल दाहाल गोर्खाबाट नै विजयी भएर आउनु भएको छ। पृथ्वीनारायण शाहलाई राष्ट्रले नै सम्मान गरेको छ।

सरकारलाई समर्थन गरेर पनि मन्त्री पठाउनु भएन, किन ? एकता दिवसको बिदा मात्र हाम्रो शर्त होइन। २०४६ सालपछि सत्तामा रहेका सबै व्यक्तिको सम्पत्तिको छानबिन गर्ने लगायतका अनेकौं विषय हामीले उठाएका छौं। जनताको आकांक्षा आवश्यकता समेट्ने हरेक क्षेत्रमा शैक्षिक योग्यताका आधारमा रोजगारी दिने कुनै राजनीतिक पावर लाग्नु हुँदैन। सुकुम्वासी समस्या समाधानको विषयलाईसमेत उठाएका छौँ।

यो सरकारमा आशाको किरण के देख्नु भएको छ ? यो सरकारका जिम्मेवारी धेरै छन्। सात दल मिलेर बनेको छ। अहिले मुलुकको कुनै पनि क्षेत्र राम्रो छैन। त्यसैले न्यायिक ढङ्गले यो सरकार अगाडि बढ्नु पर्दछ। हामीले भ्रष्टाचार मात्र रोक्न सक्यौ भने कुनै विदेशीसँग हात थाप्नु पर्दैन।

यो सरकारले राप्रपा र रास्वपालगायत दललाई कसरी मिलाएर लैजान्छ ? लक्ष्य र उदेश्य प्रस्ट भयो भने मिलाउन सकिन्छ। हामी हाम्रो एजेन्डालाई इमानदारितापूर्वक अगाडि लैजाने प्रयासमा छौं। अहिले सरकारमा गए पनि भोलि गए पनि त्यसको रणनीतिक लक्ष्य छ। रणनीतिक रूपमा यो सरकारमा हाम्रो एजेन्डा स्थापित गर्ने हो।

नयाँ पार्टीको उदय र मूलधारका पार्टी पछाडि पर्नुको कारण के हो ? राजनीतिमा जे पनि कायम हुन्छ। जनता धेरै समय सत्तामा भएका दल र एउटै अनुहार पटकपटक देखेर दिक्क भएका छन्। यी दलले केही नगरेपछि नयाँ पार्टीको उदय भयो। राप्रपाको अहिले आएको मत सत्ताको नेतृत्व परिवर्तन नभएको कारणले आएको हो।

अहिले देश बनाउने भन्दा पनि सत्तामा कसरी पुग्ने भन्ने धेरै छन्। तपाईंहरु पनि त्यही लाइनमा हुनुहुन्छ, होइन ? हाम्रो प्राथमिकता सरकार र सत्ता होइन। हामी सरकारमा जाने भनेको नजिकको मान्छे भएर होइन। जो मन्त्री भएर गए पनि उनीहरू हिजोको मन्त्री जस्तो हुनु भएन। उसको व्यवहार, काम गर्ने शैली, भ्रष्टाचार मुक्त, देश र जनतालाई शिरमा राखेर काम गर्ने खालको हुनुपर्छ।

राप्रपाले कति वटा मन्त्रालयमा दाबी गरेको छ ? त्यो अहिले छलफल भएको छैन। हाम्रो पहिलो विषय भनेको न्यूनतम साझा कार्यक्रममा सहमति हुनु हो। त्यसपछि मात्र सरकारमा जाने हो। आफू पनि सच्चिने र अरूलाई पनि नराम्रो गर्न नदिने हाम्रो अभियान हो।

तपाईं बागमती प्रदेशमा मन्त्री बन्ने तरखरमा हुनुहुन्छ कि ? हामी पाँच प्रदेशमा निर्णायक छौँ। मुख्य मन्त्रीको पनि दाबी हुनसक्छ। त्यो दाबी सामान्य हो। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता) – प्रस्तुति : पुष्पाञ्जली बस्नेत