फाइल तस्वीर ।

राजनीति

वाम एकताका लागि समाजवादीद्वारा चार सदस्यीय कार्यदल गठन 

By खबरहब

January 05, 2023

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो । 

उक्त बैठकले कार्यदलमा भुसालसहित गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। उनले कार्यदलले वामपन्थीहरूसँग छलफल, परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्ने काम गर्ने बताए। उनले भने, ‘हामीले हालैको पोलिटब्यूरो बैठकबाट वाम एकताका लागि पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले सुरु गर्ने भनेर निर्णय गरेका थियौँ । त्यसलाई पूरा गर्न महासचिव भुसाल नेतृत्वको तुलाधर, ज्वाला र पौडेल रहेको चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेका छौँ । यो कार्यदलले वामपन्थीसँग छलफल गरी निष्कर्ष निकाल्नेछ ।’

यसैगरी उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा सरकार पक्षका पार्टीहरूले नै औपचारिक प्रस्ताव नगरेको जानकारी दिए । अहिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताको पहल भइरहेको बताइएको छ । जनता समाजवादीले पनि विचार मिल्नेसँग एकता गर्ने गरी वार्ता समिति बनाइसकेको छ ।

गएको भदौमा नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय समाजवादीले गरेको थियो । तर माओवादी केन्द्रसँगको एकता प्रक्रिया हालसम्म अघि बढ्न सकेको छैन ।