समाचार

विकासले फेरिएको खदी, अब सबै सुविधा गाउँमै

By खबरहब

February 05, 2023

सुर्खेत – सामान्य उपचारका लागि मोटो रकम खर्च गरेर सुर्खेत-नेपालगन्ज जानुपर्ने बाध्यतामा रहेका रुकुम पश्चिमको आठबिसकोट–३ खदी गाउँका बासिन्दा अहिले गाउँमै स्वास्थ्य चौकी स्थापना भएसँगै खुसी भएका छन् ।

त्यतिमात्र होइन गाउँमै उपचार हुननसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा चढेर काठमाडौं, दाङ, नेपालगन्जलगायत शहरमा जानका लागि सडक पनि विस्तार भएको छ ।  स्थानीय सरकार बन्नु अघि हिँडेर सबै ठाउँमा जानुपर्ने बाध्यात रहेको सुनाउने  खदीगाउँबासीहरु अहिले बस्तीमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुलीको पहुँच विस्तार भएको बताउँछन् ।

गाउँ अहिले राप्ति राजमार्गसँग जोडिएको छ । गाउँबाट पाटागाउँ, रक्दा र दाजे जोड्ने सडक निर्माण भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसंगै खदीका सबै बस्तीहरुमा सडक पुगेको वडाअध्यक्ष केशरमान विकले बताए । पाँच वर्षमा खदी आउने मुख्य सडकसहित अन्य चार सडक निर्माण भएको अध्यक्ष विकले जानकारी दिए ।

‘पहाडको भूगोल कमजोर भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ । सडक स्तरोन्नति गर्नसके गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सकिन्छ ।’ वडाध्यक्ष विकले भने।’ त्यस्तै एक घर एक धारा, शौचालय, प्रत्येक टोलमा सडक, बिजुली, ढल निकास र विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा राम्रो विकास भएको उनले बताए । प्रत्येक घरमा खानेपानीको पुर्‍याउने लक्ष्यका साथ वडाले काम गर्दै आएको र पक्की भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएको सुनाए । जनप्रतिनिधि आएपछि खदीको दैनिकी बदलिएको स्थानीय बताउँछन् ।

नुन लिनलाई दुई दिनको बाटो हिँडेर सदरमुकाम जानुपर्थ्यो । बीचबाटोमै बास बस्नुपर्ने बाध्यता थियो । स्थानीय धनिराम बुढाले भने, ‘अहिले नुनदेखि सुनसम्म घरमै आइपुग्छ । पानी पधेँरो जाँदा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ। यो भुगोलमा सुन्तला, स्याउ, आलु, कोदो लगायतका अन्नबालिका लागि उत्तम भएकाले आधुनिक कृषि प्रणालीको अवधारणा अघि सारिएको बताएको छ । टुकी र दीयोको भरमा चलेको गाउँमा बिजुली पुगेपछि गाउँ नै झिलिमिली बनेको छ ।

विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यस क्षेत्रमा पहिलो वर्ष बत्ती बाल्ने योजना रहे पनि भौगोलिक विकताका कारण ढिलाइ भयो । खदीका सबै घरमा बिजुली विस्तार गरिएको वडा अध्यक्ष विकले बताए। पाँच सय घरधुरी रहेको सो गाउँ पालिकाकै उत्कृष्ट विद्यालयदेखि व्यवस्थित गाउँभित्र पर्छ ।

पालिकाको केन्द्रदेखि खदीसम्म विस्तारित बिजुलीले गाउँको मुहार फेरिँदै गएको छ । सौर्य ऊर्जा र टुकी, दियोको भरमा जीवन निर्वाह गर्दै आएका स्थानीयको जीवनस्तरमा सुधार आएको पाइएको छ।