समाचार

चिकित्सक संघको निर्वाचन : आजदेखि मतगणना थालिँदै

By खबरहब

February 05, 2023

काठमाडौँ – नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि आज मतगणना सुरु हुने भएको छ।

काठमाडौं उपत्यकामा बिहीबार सुरु भएको मतदान शनिबार सकिएपछि आइतबार मतगणना गर्न लागिएको हो। निर्वाचनमा ६ हजार २९२ मत खसेको थियो। पाँच वटा टेबलमा मतगणना गरिने वर्तमान अध्यक्ष डा. लाेचन कार्कीले खबरहबलाई जानकारी दिएका छन्। उनकाअनुसार अन्तिम परिणाम आउन करिब एक साता लाग्नेछ।

काठमाडौं उपत्यकाभित्र बिहीबार ५८९, शुक्रबार ९८५ र शनिबार १०६८ गरी २ हजार ६ सय ४२ मत खसेको छ भने काठमाडौं उपत्यकाबाहिर ३ हजार ६५० मत खसेको छ। १२ हजारभन्दा बढी सदस्य रहेको संघमा ६ हजार २ सय ९२ मत मात्र खसेको हो।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये १२ पदका लागि मतदान भएको हो। त्यसैगरी एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सह कोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

उपत्यका बाहिर भने माघ ६ र ७ गते निर्वाचन भएको थियो ।