अन्तर्राष्ट्रिय

रोमाञ्चक फ्रेन्चाइज आईपीएलको प्रतीक्षा

By मनोज घिमिरे

March 05, 2023

विश्व खेलकुदले संसारका महान् स्पिनर सेन वार्नलाई ५२ वर्षको उमेरमा गत वर्ष गुमाएको थियो। खेल जीवनमा थुप्रै पटक आफ्नो टोलीलाई अप्रत्याशित जित दिलाएका वार्नले अस्ट्रेलियालाई सन् १९९९ को विश्वकप उपाधि दिलाउन अहंम भूमिका निर्वाह गरेका थिए।

थुप्रै पटक संसारमा स्टार ब्याट्सम्यानमा स्पिनको जादुमा फसाउन वार्नले केही इनिङमा भने ब्याटिङ मार्फत पनि जित दिलाएका छन्। सन् २००८ मा आईपीएलको पहिलो संस्करण सुरु हुँदा राजस्थानलाई बलियो टोलीको रूपमा हेरिएको थिएन। त्यसै आईपीएलमा सोहल तनवीर र वार्न मिलेर अन्तिममा खेल जिताएका थिए।

पहिलो संस्करणको फाइनलमा मुम्बईमा १६३ रन जोडेको थियो। राजस्थानमा युसुफ पठानले उत्कृष्ट बलिङ गर्दै २२ रन खर्चेर ३ विकेट लिएका थिए। ३९ बलको सामना गरेका उनले ३ चौका र ४ छक्काको सहयोगमा ५६ रन प्रहार गरेका थिए। त्यसै खेलको अन्तिम ओभरमा राजस्थानलाई १७ रन आवश्यक भएको समयमा वार्न र तनवीर क्रिजमा थिए। अन्तिम बलमा तनवीर र वार्न मिलेर दिलाएको जित अझै यादगार मानिन्छ।

त्यसै थुप्रै यादगार खेल सहित आईपीएलले १५ संस्करण पार गरिसकेको छ। यो १५ संस्करणले एक से एक स्टार उदाए। स्टार ब्याट्सम्यान र स्पिनरको देशको रूपमा रहेको भारतले जसप्रित बुमराह जस्ता स्टार मात्र होइन हार्दिक पाण्डे जस्ता संसारकै हार्ड हिटर उत्कृष्ट अलराउण्डरको उदय भयो।

यी थुप्रै संस्करण जस्तै थुप्रै सनसनीपूर्ण खेल यो वर्ष पनि पक्कै देखिने छ। संसारको उत्कृष्ट फ्रेन्चाइज लिगको १६औं संस्करण ३१ मार्चदेखि सुरु हुँदै छ।

सुरुवातमा ८ टोलीबाट सुरु भएको आईपीएल अहिले १० टोलीमा पुगेको छ। चेन्नाइ सुपर किङ्स, राजस्थान रोयल्स, मुम्बई इन्डियन, कोलकता नाइट राइडर्स, र रोयल च्यालेन्जर बंगलोरको सहभागिता यथावतै छ। सुरुमा हैदराबादको प्रतिनिधित्व डेकन चार्जसले गरेको थियो भने अहिले सनराइजर्स हैदरावादले गरेको छ। यसैगरी दिल्ली डेयरडेभिल्स अहिले दिल्ली क्यापिटल बनेको छ। किङ्स पन्जाब ११ पन्जाब सुपर किङ बनेको छ। पछिल्लो समयमा आएर लखनउ सुपर जाइन्ट र गुजरात टाइटान थपिएका छन्।

विगतमा अन्य धेरै प्रायोजक संस्थाले प्रायोजन गरेको भए पनि यस पटक टाटाले आईपीएलको प्रायोजन गरेको छ। तसर्थ टाटा आईपीएलको रूपमा यो संस्करण रहेको छ।

भारतीय क्रिकेटमा पछिल्लो समय प्रभाव छाडेका ब्याट्सम्यान लोकेश राहुलको नेतृत्वमा रहेको लखनउ सुपर जेन्ट्सलाई विशेष बलियो मानिएको छ।

मार्कोस स्टोनिस, रवि विस्नोइ, क्वीन्टन डी कक, दीपक होड्डा, क्रुनाल पाण्डे, अभेष खान, मार्क उड र कृष्ण गौथम टोलीमा छन्।

यसैगरी सो टोलीमा मनन भोरा, मोहसिन खान, आयुश बडोनी, कायल मायर्स, करण शर्मा, मायन्क यादव, निकोलास पूरण, जयदेव उनान्कद, यश ठाकुर, रोमारियो स्टेफर्ड र डानीयल साम्स छन्। सोही टोलीमा अमित मिश्र, पेरेक मान्कद, स्वप्निल सिंह, नवीन उल हक र यद्धभिर चारक छन्।

गौतम गम्भीर मेन्टर रहेको यो टोली एन्डी फ्लवारको प्रशिक्षणमा छ। यसैगरी एन्डी बिचेल बलिङ प्रशिक्षक तथा रिचार्ड हार्सल फिल्डीङ प्रशिक्षक छन्। विजय दाहीया सहायक प्रशिक्षक तथा ब्याटिङ सल्लाहकार छन्।

टोलीमा शीर्ष क्रममा राहुल, डिकक, होड्डा र बडोनीले ब्याटिङ गर्ने सम्भावना छ। यसैगरी मध्य क्रममा पूरण ,स्टोनीस र पाण्डे तथा पुछारमा विस्नोई,उड, मुयुस र अभेष रहने सम्भावना प्रबल छ।

साविक विजेता गुजरातले यसै पटक पनि आईपीएल जित्ने अनुमान धेरैको छ। गुजारतले यो सिजनमा थप ७ खेलाडी ल्याएर २५ सदस्सीय टोलीलाई पूर्ण बनाएको हो। तेबतीया, मिलर र रसिद खानको साथमा केन विलिम्सन र केएस भारत समाहित भएपछि टोली थप मजबुत भएको हो।

मोहम्मद सामी, अलहारी जोस्रेफ, यस शर्मा र रसिद खानको टोलीमा मोहित शर्मा, जासुआव लिटे र शिबम माभी छन्।

भारतीय क्रिकेटका सबैभन्दा प्रभावशाली अलराउण्डर हार्दिक पाण्डेको नेतृत्वमा रहेको टोलीमा पछिल्लो समय उत्तिकै जमेका प्रारम्भिक ब्याट्सम्यान शुभमन गील तथा डेभिड मिलर छन्।

अभिनव मनोहर, सुदर्शन साई , ऋद्धमन साह, म्याथ्यु वेड, राहुल तेबतीय, विजय शंकर र मोहम्मद सामी छन्।

प्रदीप सङ्गम, दर्शन निलकाण्डे, जयन्त यादव,आर साई किशोर, नुर अहमद, उभिलल पटेल, केएस भरत र ओडीयन स्मिथ पनि गुजरातको टोलीमा छन्।

दक्षिण अफ्रिकी क्रिकेटका लिजेन्ड तथा भारतलाई विश्वकप जिताउन सफल प्रशिक्षक गेरी क्रिस्टर्न टोलीका मेन्टर तथा ब्याटिङ प्रशिक्षक छन्। आशिष कपुर स्पिन बलिङ प्रशिक्षक छन्। आशिष नेहरा फिल्डिङ प्रशिक्षक छन्। नरेन्दर नेगी टोलीका सहायक प्रशिक्षक छन्।

टोलीको माथिल्लो क्रममा गील, विलिम्सन र भारत तथा मध्य क्रममा मिलर पाण्डे, तेबतीया र रसिद खान रहने सम्भावना प्रबल रहेको जनाइन्छ। माभी, साइ किशोर, सामी र लिट्टेले बलिङ आक्रमण सम्हाल्ने अनुमान छ।

जोस बटलर र सञ्जु सामसनका कारण राजस्थानलाई यस सिजनको अर्को बलियो टोलीको रूपमा हेरिएको छ। जेसन होल्डर ,जाम्पा र जोय रुटलाई समाहित गरे पछि राजस्थान बलियो मानिएको छ।

टोलीमा सिम्रन हटमायर, ओबेड म्याककोय, ट्रेन्ट बल्ट, यशस्वी जयसवाल, देवदत्त पाणीकल, ध्रुव जुरेल, नवदीप शैनी र कुल दीप सेन छन्।

कारीपा केसी, कुल दीप यादव, वाइ चावल, प्रसिद्ध कृष्णा,रियन पराग रविचन्द्र आश्विन पनि सोही टोलीमा छन्। टोलीमा डानोभान फरेरा, क्रुनाल राथोर, केएम असिफ, मुरागन आश्विन, आकाश वरिष्ठ र अब्दुल पिए छन्। कुमार सांगकरा टोलीका मेन्टर तथा मुख्य प्रशिक्षक छन्। अमुल मजुमदार ब्याटिङ प्रशिक्षक छन्। दीक्षान्त याग्नीक फिल्डिङ प्रशिक्षक तथा लासिथ मलिंगा बलिङ प्रशिक्षक छन्। ट्रिभोर पेनी बलिङ प्रशिक्षक छन्।

बटलर, जयसवाल र पाणीकलले शीर्ष क्रममा ब्याटिङ गर्ने सम्भावना छ। पराग, सामसन, हटमायर र होल्डर मध्य क्रममा रहने सम्भावना छ। रवि आश्विन, बोल्ट, कृष्णा र युजभेन्द्र चावलले बलिङको जिम्मेवारी सम्हाल्ने छन्।

त्यसो त पहिलो संस्करणलाई सम्झनेले आईपीएलमा यसै हुन्छ भनेर अनुमान गर्न कठिन ठान्ने गरेका छन्। पहिलो संस्करणमा अत्यन्त कमजोर आँकिएको राजस्थानले उपाधि जितेको थियो। पहिलो संस्करणमा राजस्थानलाई उपाधि दिलाउने क्रममा सेन वाटसन प्रतियोगिताका उत्कृष्ट खेलाडी भएका थिए।

दोस्रो संस्करणमा एडम गिलक्रिस्ट म्यान अफ द सिरिज भए भने डेकन चाजर्सले उपाधि जित्यो। तेस्रो संस्करणमा सचिन तेन्दुलकर उत्कृष्ट खेलाडी भए। चेन्नाइ सुपर किङ्ले उपाधि जित्यो। चौंथो संस्करणमा कृश गायल उत्कृष्ट खेलाडी भए भने सुपर किङ्स उपाधि रक्षा गर्न सफल भयो।

सन् २०१२ मा पाँचौँ संस्करणको उपाधि कलकत्ताले जितेको थियो। सो प्रतियोगितामा सुनिल नारायण उत्कृष्ट खेलाडी भएका थिए। छैटौँ संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको थियो। सो प्रतियोगितामा सेन वाटसन उत्कृष्ट खेलाडी भए। ग्लेन म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरेको सातौँ संस्करणमा कलकत्ताले उपाधि जितेको थियो।

आन्द्रे रसेल उत्कृष्ट खेलाडी भएको आठौं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जित्यो। विराट कोहली उत्कृष्ट खेलाडी भएको नवौँ संस्करणको उपाधि सनराइजर्स हैदराबादले जितेको हो।

बेन स्टोक्स उत्कृष्ट खेलाडी भएको १० औं संस्करणमा मुम्बई इन्डियन तथा सुनिल नारायण उत्कृष्ट भएको ११ औं संस्करणमा चेन्नाइ सुपर किङ्सले उपाधि जिते। सन् २०१९ को १२ औं संस्करणमा रसेल उत्कृष्ट खेलाडी भए भने मुम्बईले नै उपाधि जित्यो। १३ औं संस्करणमा जोफ्रा आर्चर उत्कृष्ट खेलाडी भए भने मुम्बईले उपाधि जित्यो।

१४ औं संस्करणमा हर्सल पटेल उत्कृष्ट खेलाडी भए भने चेन्नाइ उपाधि जित्न सफल भयो। गुजरातले उपाधि जितेको पछिल्लो संस्करणमा बटलर म्यान अफ द सिरिज भएका थिए। १६ औं संस्करणमा गुजरात, लखनउ र राजस्थान बलियो टोली भएकोमा धेरै पण्डित सहमत छन्। स्रोत : आईपीएल टी-२०, द सिटिजन