समाचार

वायुसेवा निगमका दुई महिला पाइलटको पहिलो अन्तर्राष्ट्रिय उडान

By खबरहब

March 05, 2023

काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका हुन् । पाइलटद्वय भावना पन्त र को-पाइलट सिर्जना राउतको टोलीले आज काठमाडौँ-दुबईका लागि अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

 “पाइलटद्वय भावना पन्त र सिर्जना गिरीले पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्नुभएको हो, निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड पनि हो, आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ, तर, अन्तर्राष्ट्रियमा यो पहिलो हो”, उनले भने । निगमका अनुसार दुई महिला पाइलटले निगमको एयरबस ए-३२० जहाज शनिबार राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका हुन् । 

उनीहरू दुबईबाट यात्रु लिएर बुधबार बिहान काठमाडौँ फर्कने उडान तालिका रहेको छ । बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पूर्ण चालक दलका सदस्यहरू महिला हुने जनाइएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा चारजना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट रहेका छन् ।