फाइल फोटो

राजनीति

राष्ट्रलाई अगाडि बढाउन श्रमको सम्मान गर्नुपर्छ : रामचन्द्र पौडेल

By खबरहब

March 05, 2023

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई अगाडि बढाउन श्रमको सम्मान गर्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको ७७औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका हुन् । “गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्थामा श्रम गरे उक्त अवस्थाको अन्त्य हुन्छ”, उनले भने ।

नेता पौडेलले आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गरे । उनले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले श्रम गरेर बाँच्न सबैलाई आग्रह गरे । श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै उनले शरीरलाई स्वस्थ बनाइराख्नका लागि श्रम आवश्यक रहेको बताए ।