औषधी/उपचार

गर्मी मौसममा हुने एलर्जी र बच्ने उपाय

By खबरहब

April 05, 2023

गर्मी मौसम सुरु भइसकेको छ। यो मौसममा छालामा धेरै प्रकारका एलर्जीको समस्या देखा पर्ने गर्दछन्। एक अध्ययनअनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुन्छ। सामान्यतया वयस्कमा भन्दा बालबालिकामा बढी एलर्जी हुने अध्ययनले देखाएको छ। मानिसको छाला अनुसार एलर्जी पनि फरक फरक हुने गर्छ। खाना, धुलो, फूलको कण, वनस्पतिको पात र किराको टोकाइलगायतबाट एलर्जी हुन्छ। एलर्जी शरीरको जुनसुकै भागमा हुनसक्छ। तर खुला भागमा जहाँ हामी केही कपडाको प्रयोग गर्दैनौ त्यस्तो भागमा बढी एलर्जी देखिने गर्छ। छालाको समस्यालाई प्राय हामी सामान्य रूपमा लिन्छौँ। यद्यपि, समयमा यसको उपचार नगरेमा छालालाई धेरै नोक्सान पुर्याउन सक्छ। यो मौसममा छाला सम्बन्धि समस्या जस्तै स्किन एलर्जी, छाला चिलाउने, छाला पास्ने आदि पनि देखिन थाल्छन्। त्यसैले यो गर्मी मौसममा छालाको हेरचाह कसरी गर्ने ? यसै विषयमा आधारित रहेर छालारोग विशेषज्ञ डा. उमा क्यालसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश :

गर्मीयाममा छालामा कस्ता समस्या देखिने गर्छन् ? यो मौसममा इन्फेक्सनका धेरै प्रकारका समस्याहरु देखा पर्दछन्। गर्मीयामा हाम्रो शरीरमा पसिना धेरै आउने हुन्छ। फलस्वरुप शारीरिक रुपमा सरसफाइमा ध्यान दिइएन भने इन्फेक्सन हुनेगर्छ। यो इन्फेक्सन संक्रमित व्यक्तिको कपडा, जुत्ता र उसले प्रयोग गरेका सामान तौली, कपाल कोर्ने काइयोदेखि लिएर मेकअप गर्ने ब्रससम्मका सामग्री अर्को व्यक्तिले प्रयोग गर्यो भने पनि संक्रमण हुने गर्छ। यो मौसममा पिम्पलको समस्या पनि जाडोको तुलनामा धेरै नै देखिन्छ। हाम्रो छालामा ग्लान्डले नेचुरल ओइल उत्पादन गरिरहेको हुन्छन्। गर्मी मौसममा घाम धेरै र चर्को हुने भएकाले गर्दा फोटोड्रामाटाइटिस हुन्छ। घामका कारण छालामा इन्फालमेसन, रातो हुने, दाग आउने हुन्छ। पसिना धेरै आउनाले शरीरको खुम्चिएको र च्यापिएको भाग महिलाको ब्रेस्टको मुनी, घाँटीमुनी, कापमा पास्नेसमेत हुन्छ।

किन हुन्छ छालाको संक्रमण ? एलर्जी गराउने पदार्थ वा कुनै अर्को संक्रमित व्यक्तिको छालाको सम्पर्कमा आउदा छालामा संक्रमण हुनसक्छ। थाइराइड, प्रतिरक्षा प्रणाली, मिर्गौलालगायत शरीर प्रणाली प्रभावित गराउने रोग लागेमा छालाको संक्रमण हुनसक्छ। शरीरको रौंमा रहेको ब्याक्टेरियाको कारणले पनि छालाको संक्रमण हुन्छ। यसको प्रमुख उपाय भनेको सरसफाइमा ध्यान दिनु नै हो।

छालामा समस्या भए कस्ता लक्षण देखा पर्छन् ? गर्मी मौसममा हाम्रो छालामा एलर्जी र फंगल इन्फेक्सन दुबैको कारणले रातो रातो दाग देखा पर्ने गर्ने र चिलाउने हुन्छ। सरसफाइमा ध्यान दिइएन भने पसिनासँगै इन्फेक्सन पनि बल्झिएर आउँछ। गर्मीयाममा फंगस धेरै हुन्छ र इन्फेक्सन बढ्छ। जसकारण छालामा रातो दाग आउने चिलाउने हुन्छ। सेतो दाग आएको छ भने धेरैले दुबी आएको भन्ने चलन पनि हुन्छ। तर दुबी आएको अवस्थामा चिलाउँदैन।

उपचारको पाटो वा कस्तो सावधानी अपनाउने त ? -दैनिक सरसफाइमा ध्यान दिने, -हात गोडा थोइरहने, -व्यक्तिगत सामान जस्तो कम्बल, स्विम सुट, तौली अर्को व्यक्तिसँग सेयर नगर्ने, -पौष्टिक आहार लिने, -छालाको संक्रमण भएका व्यक्तिको सोझो सम्पर्कमा रहने, -दिनमा एकपटक नुहाउनुपर्छ। नुहाउन सकिएन भने रुमालले मात्र भए पनि शरीर पुछेर बडी लोसन लगाउदा छालामा समस्या हुँदैन, -एन्टिफंगल पाउडर बडी फोल्डमा लगाउने, -पिम्पल आउने व्यक्तिले बिहान बेलुका मुख धुने र सनब्लक क्रिम लगाउने, -घर बाहिर निस्कदाँ शरीर पुरै छोप्ने खालका लुगा लगाउने, घाममा हिँड्दा छाताको प्रयोग गर्नुपर्छ, -घाम र वातावरण प्रदूषणबाट बच्ने, -कोकोनट ओइल लगाउँदा शरीर सित्तल हुन्छ। जसले गर्दा छालामा घमौरा आउँदैन।

गर्मीमा छालामा कुनै पनि समस्या आउनै नदिन के गर्ने ? दैनिक रुपमा आफ्नो स्वास्थ सफा गर्ने गर्नु पर्दछ किनकी यो मौसमा हाम्रो शरीरबाट धेरै पसिना बग्ने हुन्छ। काममा हिँड्दा छाताको प्रयोग गर्ने साथै धेरै धुलो र धुवा भएको ठाउँमा आवतजावत कम गर्ने, शुद्ध पानी प्रशस्त मात्रामा खाने, बासी सडेगलेका खाना नखाने, साथै बाहिरी खाना र प्याकेटका खाना पनि कम गर्ने।