राजनीति

‘शेखर-गगन समूह सरकारमा जाने वातावरण बनेन’

By खबरहब

April 05, 2023

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले डा. शेखर कोइराला-गगन थापा समूह तत्काल सरकारमा जाने वातावरण नबनेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा उनले यस्तो बताएका हुन् । उनले भने,  ‘हामी त चैत १७ गते नै सरकारमा जाने वातावरण बनोस् भन्ने चाहन्थ्यौं । अब जहिले वातावरण बन्छ, तहिले जाने हो । शीर्ष नेताहरूका बीचमा त्यस अनुसारको समझदारी बने सरकारमा जाने निर्णय होला’ ।

कांग्रेस सहमहामन्त्री परियारले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई मत नहाल्नेलाई पाखा लगाउन नमिल्ने जिकिर गरे । उनले पार्टीमा न्यायोचित निर्णय नभए अपमान सहन नसकिने चेतावनी समेत दिए ।

‘पार्टीभित्र हामी भागबन्डाको राजनीति गर्दैनौं तर हरेक निर्णय न्यायोचित हुनुपर्छ । पार्टीमा अपमान सहन सकिँदैन । न्याय दिन नसक्ने हो भने पार्टी सभापतिलाई एकलौटी गठन गर्नुहोस् भनेका छौं’ उनले भने।

मन्त्रिपरिषद्मा पठाउने सभापतिको विशेष अधिकार नभएको पनि उनले बताए ।