अन्तर्राष्ट्रिय

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ गम्भीर अपराधका अभियोग

By खबरहब

April 05, 2023

न्युयोर्क– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लील चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुटा व्यावसायिक विवरण तयार पारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।

न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मंगलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उनले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लील चलचित्रकी नायिका स्टोर्मी डेनियल्ससँग यौन सम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्याशी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ । डेनियल्सले आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन् ।

उनको औँठा छापमात्र लिइएको थियो । कानून व्यवसायीले विश्व प्रख्यात उनको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । अभियोजकहरूले पनि उनको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए । उनलाई हतकडी पनि लगाइएको थिएन । अदालतमा उनी आफ्ना कानून व्यवसायीहरूसँगै बसेका थिए । अदालतमा उनी शान्त तर गम्भीर देखिन्थे । करिब एक घण्टाको सुनुवाईपछि उनी अदालतबाट बाहिरिएका थिए ।

अदालतबाट बाहिरिनेबित्तिकै ट्रम्प फ्लोरिडा फर्किएका छन् । अदालतबाट बाहिरिँदा उनका समर्थकहरूले उनीमाथि लगाइएका अभियोग र मुद्दा देशको अपमान भएको टिप्पणी गरेका थिए । आफूमाथिको मुद्दा राजनीतिक रूपमा प्रेरित भएको भन्दै उनले न्यायाधीश र अभियोजकहरूको पनि आलोचना गरे । बिना प्रमाण आफूमाथि दोष लगाइएको दाबी पनि उनले गरे। ‘अमेरिकामा यस्तो हुनसक्छ भन्ने मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ । आगामी राष्ट्रपतीय चुनावलाई प्रभावित पार्न यो झुटा मुद्दा लगाइएको हो । यो तत्काल खारेज हुनुपर्छ,’ उनले भने ।

न्यायाधीश जुआन मर्चनले उनीमाथि कुनै आदेश जारी नगरे पनि दुवै पक्षलाई संयमित भएर शिष्ट भाषामा ध्यान आग्रह गरे । उनले आफूमाथि लगाइएको मुद्दाविरुद्धको आगामी अगष्टसम्ममा प्रस्ताव पेश गर्नुपर्नेछ । अदालतको अर्को सुनुवाइ डिसेम्बरमा हुनेछ ।

पूर्वराष्ट्रपति ट्रम्पमाथि अरू मुद्दा पनि लाग्न सक्ने सम्भावना छ । उनीमाथि जर्जिया राज्यमा सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजामा हस्तक्षेपको प्रयास गरेको तथा अमेरिकी कंग्रेसमा जनवरी ६ मा दङ्गा गराएको सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ । साथै उनको फ्लोरिडास्थित घरमा फेला परेका गोप्य दस्तावेजलाई लिएर पनि थप मुद्दा लाग्न सक्ने बताइएको छ ।