राजनीति

पर्यटनको विकास गर्न हवाई सम्पर्क स्थापनाका लागि पहल गर्छु : उपराष्ट्रपति

By खबरहब

April 05, 2023

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका पर्यटनको विकास र विस्तारका निमित्त सम्बन्धित मुलुकसँग सकेसम्म सिधा हवाई सम्पर्क स्थापनाका लागि पहल गर्ने बताएका छन् ।

बुधबार नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) का सदस्यहरुसँगको भेटघाटमा उपराष्ट्रपति यादवले नेपालको सम्भावना भएको क्षेत्र पर्यटनको विकास र विस्तारका निमित्त सम्बन्धित मुलुकसँग सिधा हवाई सम्पर्क स्थापनाका लागि पहल गर्ने बताएका छन् ।

उपराष्ट्रपति यादवले भने ‘संसारका विभिन्न मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भए पनि राजदूतावासको अभावमा ति मुलुकसँगको सिधा सम्पर्क स्थापित हुन सकेको छैन ।’ उनले नेपालको अन्तर्राष्ट्रिय स्तरमा रहेको सम्बन्धलाई थप सुदृढ र व्यावहारिक बनाउँदै आर्थिक कुटनीतिमा विशेष जोड दिनु पर्ने बताए ।

सम्बन्धित देशसँगको कुटनीतिक सम्बन्धका साथै उद्योग, व्यापार, व्यवसाय, कला संस्कृति, रहनसहन, भेषभुषा, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने बताएका छन् ।

कन्सुलरहरुले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेकाे र अब वैदेशिक व्यापार अभिवृद्धि तथा दुई देशीय सम्बन्धलाई विस्तार गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न चाहेकाे उनले बताए ।

कन्सुलर कार्यालयहरु र परराष्ट्र मन्त्रालयबीचको सम्बन्ध एकआपसमा परिपूरक हुनुपर्ने उपराष्ट्रपति यादवले बताए ।