राजनीति

प्रधानमन्त्री प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै

By खबरहब

May 05, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दैछन् । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री दाहालले मूल समारोहको उद्घाटन गर्न लागेका हुन ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार बिहान ९ बजे प्रधानमन्त्री दाहालले मूल समारोहको उद्घाटन गर्नेछन् । उनका अनुसार कार्यक्रम तीन दिनसम्म चल्नेछ । 

बैशाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा हिजो बिहान दीप प्रज्ज्वलन, महापरित्राण भएको थियो भने आज पूजापाठ, शोभायात्रासहित मूल समारोह आयोजना हुनेछ ।

यसैगरी २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा हुनेछ भने सोही बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोहको आयोजना गरिएको छ ।

हरेक वर्ष झै यस वर्ष पनि बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड रुपैयाँ बजेट छुट्याएको सदस्य सचिव शाक्यले बताए । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा भने कोषले तीन करोड रुपैयाँ बजेट छुट्याएको थियो ।