खेलकुद

चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो : भिजन र युनिकालाई स्वर्ण

By खबरहब

May 05, 2023

काठमाडौँ- चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दोमा पुष्पलाल मेमोरियलकी युनिका खतिवडा र बाल गीताञ्जलीका भिजन तामाङ्गले स्वर्ण पदक जितेका छन् । श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ्ग, नेपालद्वारा आयोजित प्रतियोगिताको एकल पुम्सेतर्फ महिलामा युनिका तथा पुरुषमा भिजनले स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा महिलामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) की प्रगति कुइकेल दोश्रो तथा शुसंस्कारकी सिजल लामा र चन्द्रागिरीकी सिमानी लामा तेश्रो भए ।

पुरुषमा एनटीएका आयुश ढुंगेल दोश्रो तथा चन्द्रागिरीका लवाङ लामा र आयोजकका आर्दश बुढाथोकी तेश्रो भए ।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ २० केजीमा एम्बासडरका कविर मगर प्रथम भए । उनले फाइनलमा एनटीएका अर्थ कुइकेललाई पराजित गरे ।

प्रतियोगिताको उद्घाटन संघीय सांसद् सन्तोष चालिसेले गरेका थिए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।