देश/प्रदेश

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

By खबरहब

May 05, 2023

दिनभर आज सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय, मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित, नक्कली शरणार्थी प्रकरणमा संलग्नको खोजी तीव्र, सङ्खुवासभा हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु, सडकमै उभौली मनाइयो लगायतका समाचारले प्रमुख स्थान पाए । 

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय समिति सदस्यमा मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले रिजाललाई कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले रिजाल केन्द्रीय सदस्यमा मनोनित भएको जानकारी दिएका छन् । शुक्रबार उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. मिनेन्द्र रिजाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ ।’

कांग्रेस विधानको दफा २१ (१०) अनुसार कम्तिमा दस वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी तेत्तीस जना सदस्य मनोनित गर्ने व्यवस्था छ ।

नक्कली शरणार्थी प्रकरणमा संलग्नको खोजी तीव्र

प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ ।

पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण सङ्कलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

उनले पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताए । यसअघि पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईका छोरा निरजका बारेमा प्रहरीले कुनै जानकारी पाउन सकेको छैन ।

“अब १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको छ”, परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रिजालले भने, “अहिलेसम्म आठ जना पक्राउ गरी अनुसन्धान भइरहेको छ ।” पक्राउ परेकामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।

जिल्ला प्रहरी परिसरले उनीहरुविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् । सुरुमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो ।

सङ्खुवासभा हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

हेलिकोप्टरमा सवार चार जना गम्भीर घाइते भएको उनले बताए । शुक्रबार दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

ढाकाबाट काठमाडौंका लागि उडेको विमान बङ्गलादेशको जहाज पटनामा आकस्मिक अवतरण

बङ्गलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ ।

विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा ७७ जना यात्रु सवार थिए । दिउँसो १२ बजे पटना विमानस्थलमा आकस्मिक अवतरण गरेपछि विमानबाट हतार हतार यात्रुलाई बाहिर निकालिएको थियो ।

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज पराजित

उज्वेकिस्तानको तास्कन्द सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् ।

अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आईबिए) को आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाली मुक्केबाज थापाले ४६–४८ किलो तौल समूहमा उज्वेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका हुन् ।

नेपाल बक्सिङ सङ्घका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेका अनुसार थापा उत्कृष्ट खेल प्रदर्शन गर्दै ५ः० अङ्कमा पराजित भएका हुन् । यही वैशाख १७ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता वैशाख ३१ गतेसम्म चल्नेछ ।

राष्ट्र बैङ्कले आइतबार नागरिक बचतपत्रको बिक्री खुला गर्ने

नेपाल राष्ट्र बैङ्कले आइतबार ‘नागरिक बचतपत्र २०८५’ को बिक्री खुला गर्ने भएको छ ।

नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन गर्दै आएको राष्ट्र बैङ्कले रू दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ । बचतपत्रको ब्याज हरेक छ महिनामा भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ ।

यही वैशाख २४ देखि आगामी जेठ २४ गतेसम्म बिक्री खुला गरेर जेठ ३० गते बचतपत्र निष्काशन हुनेछ । लगानीकर्ताले घटीमा रू १० हजार र बढीमा कुल निष्काशित रकमको सीमासम्म रू १० हजारले निशेष भाग जाने अङ्क बराबरको बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । यो बचतपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिनेछ ।

नागरिक बचतपत्र खरिद गर्न चाहने इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैङ्कको वेभसाइटमा रहेको अनलाइन प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् । आवेदन दिँदा नेपाली नागरिकताको प्रतिलिपि, नाबालकको हकमा संरक्षकको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सस्केछन् । लगानीकर्ताले स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवदेन दिँदा नै खुलाउनु पर्नेछ । यदि नखुलाइएको भए राष्ट्र बैङ्कले प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराउनेछ । यद्यपि लेखपढ गर्न नजान्ने व्यक्तिलाई भने स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैङ्कले जनाएको छ ।

सडकमै उभौली मनाइयो

काठमाडौँको बानेश्वरमा किराँत समुदायले सडकमै उभौली पर्व मनाएका छन् । शुक्रबार देशभरका किराँत समुदायले उभौली पर्व मनाइरहेका छन् ।

सोही क्रममा काठमाडौँको बानेश्वरमा भेला भएका किराँती आफ्नो सांस्कृतिक पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन् ।

आफ्नो सांस्कृतिक पोशाकसहित भेला भएका उनीहरूले काेशी प्रदेश नामाकरण गरीएकाेमा विराेध जनाएका थिए ।

काम नगर्ने कम्पनीलाई कारबाही गर्न मन्त्री ज्वालाकाे निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।

मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । उनले समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बेतौनादेखि विराटनगरसम्मको झन्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प छ । निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ । निर्माण सम्पन्न गर्ने गरी तत्काल काम अघि नबढाए निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले जनाएको छ ।

अहिले निर्माण कम्पनीले काममा ठप्प गरेपछि सङ्घीय सांसद, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले शुक्रबार पत्रकार सम्मेलन गरेका थिए ।

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गतको इटहरी योजनाको कार्यक्षेत्रमा झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला छन् । जम्मा ४४ किमी खण्डमा पाँच ठेक्का लगाइएकोमध्ये हालसम्म २० किमी सडकमा कालोपत्र भइसकेको छ ।

उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा आवश्यक : नेता कोइराला

नेपाली कांग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन् ।

शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।’ पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरूको उदयमान हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।

उनले थपे, ‘अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।’ उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उनको अनुमान छ । उनले अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको बताए ।

बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन

बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्लामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए । प्रधानमन्त्रीको पुत्ला दहनसँगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै स्थानीयले नाराबाजी गरेका थिए ।

यसअघि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गठबन्धन दलका नेता र मन्त्रीलाई महागढीमाई नगर क्षेत्रभित्र प्रवेशमा रोक लगाएको भन्दै बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्षस्थ नेतालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत सुनुवाइ नभएपछि प्रवेश निषेध गरेको नगर प्रमुख यादवले बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६५८ जना कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् भने नगरपालिकाको योजनाको कामसमेत प्रभावित बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको छ ।

नगर प्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत चार महिना नहुँदा झन्डै एक अर्बको बजेट फ्रिज हुन लागेको बताउँदै आएका छन् । प्रमुख यादव प्रमुख प्रशासकीय अधिकृत माग गर्न यतिबेला काठमाडौँमै छन् ।

गण्डकी प्रदेश सरकारलाई पूर्णता दिने तयारी

प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाएका थिए ।

सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको बताइन् । “गठबन्धनमा आन्तरिक तयारी भइरहेको छ, दुई÷तीन दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ”, उनले भनिन् ।

मन्त्रिपरिषद्ले पूर्णता पाएर मन्त्रीहरुले कार्यजिम्मवारी सम्हालेपछि सरकारका कामकारबाहीले गति लिने उनको भनाइ छ । “मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पनि पाइसक्नुभएको छ, अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदैन, सरकार सहज रुपमा अघि बढ्छ”, प्रवक्ता तिवारीले भनिन् ।

साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र नेकपा (एकीकृत समाजवादी) का एक गरी ३५ बहुमत सदस्यले मुख्यमन्त्री पाण्डेलाई बिहीबार विश्वासको मत दिएका थिए । नेकपा (एमाले) का २२ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत हाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रेशम जुग्जालीले गठबन्धन दलहरुबीच मन्त्रालयको भागबण्डा मिलिसकेको बताए । “मन्त्रालयको जिम्मेवारीमा जाने पात्रहरुबारे अहिले दलगत रुपमा छलफल केन्द्रित छ”, उनले भने “मन्त्रीको नाम टुङ्गो लाग्नासाथ सरकारले पूर्णता पाउँछ ।”

“एकीकृत समाजवादीलाई कुन मन्त्रालय दिने भन्ने विषय मुख्यमन्त्रीले नै मिलाउनुहुन्छ, गठबन्धनले त्यसको जिम्मेवारी उहाँलाई नै दिएको छ”, प्रदेशसभा सदस्य जुग्जालीले भने, “मन्त्रालयको संख्या भने सातभन्दा बढ्दैन ।” निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्यालाई १२ बाट घटाएर सातमा पुर्याएको थियो ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले पदभार ग्रहणका बेला मन्त्रालयको सङ्ख्या नथप्ने प्रतिबद्धता जनाएका थिए । हाल मन्त्रिपरिषदमा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसका सरस्वती अर्याल तिवारी रहेका छन् ।

कञ्चनपुरमा औलोको जोखिम उच्च

भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ । रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ ।

“सङ्क्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्दछ, कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्”, स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, “यहाँ स्थानीयभन्दा आयातित बिरामी बढी छन् ।” आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्कअनुसार कञ्चनपुरमा स्थानीय लामखुट्टेको टोकाइबाट औलो लागेको वा सरेकोका बिरामी पाँच र देश बाहिरका औलो जोखिमयुक्त क्षेत्रबाट आउँदा नै औलो लिएर आएको बिरामी १७ छन् ।

“वैशाख–जेठमा बिरामी बढी देखापर्छन्, यो सङ्ख्या अझै बढ्न सक्छ”, उनले भने, “औलो निवारण गर्नका लागि कीटनाशक झूल वितरण र विषादी छर्किंदैछौँ ।”

सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार आव २०७७÷७८ मा १६ स्थानीय र ३१ आयातित गरेर ४७ तथा आव २०७८÷७९ मा छ स्थानीय र ३० आयातित गरेर ३६ जनामा औलो सङ्क्रमण देखिएको थियो ।

महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा भेटिने औलोका अधिकांश बिरामी भारतबाट फर्किएका हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए । “भारतबाट काम गरेर फर्किनेहरुमा औलो रोगको सङ्क्रमण बढी छ”, उनले भने, “अस्पतालमा परीक्षण गर्दा त्यस्ता मानिसमा औलो सङ्क्रमण देखिएका छन् ।”

कञ्चनपुरको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, बेलौरी, शुक्लाफाँटा र कृष्णपुर औलोले बढी प्रभावित छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो वर्ष सबैभन्दा बढी बेदकोटमा छ, भीमदत्तमा पाँच, कृष्णपुरमा चार, बेलौरी र दोधारा चाँदनीमा दुई, शुक्लाफाँटा र बेलडाँडीमा एक÷एकजना औलाका बिरामी फेला परेका छन् ।

कीटनाशक झूल र विषादीको माग बढी भएकाले व्यवस्थापन गर्न कठिन भइरहेको जनस्वास्थ्य अधिकृत पन्तले बताए । “प्राथमिकता निर्धारण गरेर कीटनाशक झूल र विषादी छर्किरहेका छौँ”, उनले भने, “माग बढी भएकाले व्यवस्थापन गर्न गाह्रो छ ।”

सुरुआतमा औलो प्रभावित भीमदत्त नगरपालिकाको बाराकुण्डा, ब्रह्मदेव, कृष्णपुर, बेलौरीलगायत केही ठाउँमा कीटनाशक झूल वितरण गरिने छ ।