देश/प्रदेश

खोटाङको फोक्सिङटार-राजापानी सडक कालोपत्र गरिँदै

By खबरहब

June 05, 2023

खोटाङ– खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्र गर्ने काम सुरु गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर)को महुरे–फोक्सिङटार सडक खण्ड अन्तर्गत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडकमा प्राइम कोट राख्न सुरु गरिएको हो ।

ठेक्काको म्याद नाघेको एक वर्षभन्दा बढी समय बितेपछि ठेकेदार कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जेठ २० गतेदेखि फोक्सिङटार–सिमपानीको रसुवाघाट खण्डमा प्राइम कोट राख्न सुरु गरेको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए । प्राइम कोटमाथि कम्तीमा ४८ घण्टापछि डिबीएसटी राखिन्छ । निर्माण कम्पनीले करिब चार किलोमिटर खण्डमा प्राइम कोट राखिसकेका छन् । 

खोटाङका प्रदेशसभा सदस्य भुपेन्द्र राईले ठेकेदार, सडक विभाग लगायतमा पुगेर निरन्तर दबाब सिर्जना गरेपछि निर्माण कम्पनीले प्राईमकोट राख्न सुरु गरेको हो । सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारको विरोधमा प्रदेशसभा सांसद पाँचकर्ण राई नेतृत्वको स्थानीयले पनि वैशाख १७ गते महुरे (नुनथला)मा सडकमै बसेर डेढ घण्टा चक्का जाम गरेका थिए ।

ठेकेदार कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले सम्झौता अनुसारको काम नगर्दा सडक कालोत्रको काम वर्षौँसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो । 

ठेक्का तोड्ने निर्णय विरुद्ध ठेकेदार अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रेको नियमित काम गर्न दिन र समय–समयमा कामको प्रगतिबारे अनुगमन गर्न माघ ४ गते अन्तरिम आदेश दिएको थियो । तर अदालतको आदेशमा ठेक्का तोड्ने निर्णय उल्टाउन सफल भएका ठेकेदारले फर्किएर सन्तोषजनक प्रगति देखाउन सकेका छैनन् ।

अन्तिम फैसलाका लागि जेठ २४ गते तोकिएको पेशीमा कालोपत्रको प्रगति विवरण पेस गर्नुपर्ने भएका कारण ठेकेदार काम गर्नैपर्ने दबाबमा परेका छन् । अदालतको अन्तिम फैसला आफ्नो पक्षमा पार्नका लागि पनि ठेकेदारले काम गरेको देखाउन खोजेको अनुमान गरिएको छ । कालोपत्रको प्रगति विवरण उपलब्ध गराउनका लागि अदालतले सडक विभागमार्फत पठाएको पत्र आइतबार गाईघाट दिक्तेल सडक योजनाको कार्यालय पुगेको छ ।

ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले ठेक्का तोडेको सूचना जारी गरेको थियो ।

यस्तै महुरे–फोक्सिङटार सडक खण्डको ठेक्का महुरे–राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धीशाही जेभीले लिएको छ । गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको भारत कन्ट्रक्सन सिद्धीशाही माघ ४ गते क्रसरको सामान उठाएर हिँडिसकेको छ । दिक्तेल–गाईघाट सडक तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ फागुन १४ गते शिलान्यास गरेका थिए ।