देश/प्रदेश

पाल्पाका किसानलाई घाँसका बिरुवा वितरण

By खबरहब

July 05, 2023

पाल्पा– पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँस बिरुवा वितरण गरेको छ । नगरपालिकाभित्र करिब एक हजार एक सय जनालाई समूहमार्फत बिरुवा उपलब्ध गराएको हो ।

नगरपालिकाले रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत गठन भएका स्वावलम्वन समूह र युवा समूह गरी ५१ समूहलाई घाँसका बिरुवा वितरण गरेको हो ।

गुल्मीको इस्माबाट बिरुवा खरिद गरी नेपियर (रातो र सेतो), राइ खनियु, बडहर, किम्बु जातका घाँस समूहका सदस्यलाई उपलब्ध गराइएको छ ।

ढुवानीसहित करिब छ लाखको बिरुवा खरिद गरेर समूहको मागअनुसार वितरण गरिएको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना संयोजक सञ्जु परियारको भनाइ छ ।

पशुपालनलाई व्यवस्थित र व्यवसायी बनाएर आत्मनिर्भरतर्फ किसानलाई अगाडि बढाउन नगर सरकारले उन्नत जातका घाँसका बीउ वितरण कार्यक्रम गरेको हो ।

निःशुल्क घाँसको बीउ पाएपछि किसान खुसी भएका छन् । स्थानीय सुशीला अर्याल बजारमा बिरुवा खरिद गरेर घाँस लगाउन महँगो पर्ने भएकाले नगरपालिकाले निःशुल्क बिरुवा दिएपछि राहत मिलेको बताउँछिन् ।

बिरुवा खरिदमा खर्च गर्नु नपरेपछि आर्थिक भार किसानले व्यहोर्नुपरेको छैन । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नगरलाई मासुमा आत्मनिर्भर बनाउनका लागि विशेष योजनाका साथ अगाडि बढेको भन्दै पशु व्यावसायिकरूपमा पालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको बताइन् ।

समूहमा आबद्ध सदस्यलाई उन्नत जातका माउ बाख्रा तथा बोका वितरण, विभिन्न तालिम, प्रविधि दिइएको छ । नगरपालिकाको सहयोगमा माउ बाख्रा पाएपछि समूहका सदस्य पशुपालनमा उत्साहित भएर लागेका छन् ।