फाइल तस्बिर

ब्रेकिङ स्टोरी

बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बागमती सरकारको निर्णय

By खबरहब

July 05, 2023

हेटौँडा- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलले दिएका सुझाव समेट्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सत्तारुढ तथा प्रतिपक्षी दलले उठाएका विषयहरु बजेटमा समावेश गर्ने निर्णय गरेको हो । मङ्गलबार बसेको प्रदेशसभाको बैठकको शून्य समयमा प्रतिपक्षी दलहरु नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बजेटमा आफ्ना सुझाव नसमेटिएको भन्दै विरोध जनाएका थिए ।

बैठकले डा चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई प्रदेश प्रशासन सेवा, एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । साथै पर्यटन उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना, इकाइ कार्यालय, काठमाडौँको म्याद दुई वर्षका लागि म्याद थप्ने निर्णय गरेको छ ।

बैठकले दोलखाको जिरी नगरपालिकामा मानव निर्मित ताल निर्माणका लागि करिब पाँच सय ४१ दशमलव २३ रोपनी व्यक्तिगत जग्गा प्राप्तिका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाका प्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको आन्तरिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।