ब्रेकिङ स्टोरी

राष्ट्र हित विपरितका विषयमा कसैसंग सहकार्य गर्न सकिँदैन : ओली

By खबरहब

August 05, 2023

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित विपरितका विषयमा कसैसंग सहकार्य गर्न नसकिने स्पष्ट पारेका छन् ।

एमाले परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी एमालेको धारणा विषयक कार्यक्रममा ओलीले राष्ट्रिय हितका लागि सरकार वा अन्य कुनै दलले ल्याएको कुरालाई समर्थन गर्न सकिने भएपनि राष्ट्रिय हित विपरीतका विषयमा सहकार्य गर्न नसकिने स्पष्ट पारे ।

उनले राष्ट्रिय हितका विषयमा एकजुट हुनुपर्नेमा आफूहरूको जोड रहेपनि सरकारले छिमेकी लगायत अन्य मुलुकसँग गरेको सम्झौता जानकारी नै नहुने बताए । ओलीले भारतले विवादीत बनाउन खोजेको सीमा, इपिजी प्रतिवेदन लगायतका विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका बेला कुनै टुङ्गो लाग्न नसकेको जिकिर गरे ।

नेपाली आवश्यकता र भावना अनुसार न्यायोचित विषयमा प्रधानमन्त्रीको भारत भ्रमण कमजोर रहेको भन्दै उनले केवल सत्ता स्वार्थ प्रधान भएको बताए । त्यस्तै उनले रुस–युक्रेन युद्धमा नेपाल शान्तिका पक्षधर भएकाले तटस्थ बस्नुपर्ने बताए ।

ओलीले व्यक्तिगत र देशको इगोले गर्दा सार्क अशक्त तथा निरीह भएर निष्प्रभावी हुन पुगेको टिप्पणी गरे ।