ली मीन सोले ५ जुनका दिन आफू कक्षा कोठामा जाँदा एकदमै कठिन महसुस भएको तथा पढाउन जाँदा नै डर लागेको कुरा डायरीमा उल्लेख गरेकी थिइन्। ‘मेरो छाती यत्ति कसिलो भएको छ कि कतै जाँदा म ढल्छु जस्तो लाग्छ। थाहा छैन। त्यो स्थान कहाँ हो। म कहाँ छु भन्ने पनि थाहा पाउँदिन।’उनको डायरीमा उल्लेख थियो। प्राथमिक शिक्षिकाले ३ जुलाईका दिन आफू कामबाट थकित भएको तथा चाँडो काम छाड्न चाहेको कुरा उल्लेख गरेकी थिइन्।
दुई सातापछि २३ वर्षीया उनी आफ्नै कक्षा कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। उनका काकाका छोरा पार्क डो योंग अहिले पनि आफ्नो सानो कोठामा धैर्य धारण गरेर बसेका छन्। उनी आफू नरुनका लागि मेहनत गरी रहेका छन्। उनको कोठा त्यत्तिकै छाडिएको छ। बच्चाहरूलाई सिकाउनका लागि त्यत्तिकै धेरै कुरा छाडिएको थियो। यसबाट थाहा हुन्छ कि उनी आफ्ना विद्यार्थीलाई कत्ति धेरै माया गर्छिन् भन्ने कुरा। लाइब्रेरीबाट झिकाइएका किताबबाट कसरी डिप्रेसनबाट मुक्त हुने भन्ने कुरा उल्लेख गरिएको थियो।
पार्कका अनुसार आफ्नी आमाको सपना पुरा गर्नका लागि मीन गत एक वर्षदेखि बच्चाको भविष्यको रेखा कोरीरहेकी थिइन्। उनले सबै बच्चालाई आफ्नै जस्तो व्यवहार गर्थिन्। पार्कले दिदीको निधनको एक दिनपछि नै प्रहरी आएर कुनै छानबिन बिना नै ब्रेकअपको कारण त्यस्तो भएको भन्ने निष्कर्ष निकाल्नुलाई तानाशाहीको संज्ञा दिन्छन्।
उनको परिवारलाई के थाहा छ भने आत्महत्याको महिना मीन अभिभावकको थुप्रै गुनासोको सिकार भएकी थिइन्। पछिल्लो घटना भने दुई बच्चाको झगडासँग सम्बन्धित थियो। एक बच्चाले अर्को साथीलाई पेन्सिलले हिर्काएका थिए। त्यसपछि अर्को बच्चाको अभिभावकबाट उनले थुप्रै फोन कल र म्यासेजको धम्की सहेकी थिइन्।
यो घटनाले दक्षिण कोरिया भरीका प्राथमिक विद्यालयका शिक्षकमा आक्रोश पैदा भएको छ। बच्चाको कारण अभिभावकबाट पाएको यातनाका बारे उनीहरू कुरा गर्न थालेका छन्। रोजगारीको सुरक्षाको मागसहित धेरै जना सडकमा प्रदर्शन गर्न थालेका छन्। अनावश्यक बखेडा झिक्दै अभिभावकले निजी फोनमा कल गरेर हैरानै पार्ने गरेको गुनासो अहिले सुनिन थालेको छ। धेरै अभिभावकको कम्प्लेन एकदमै कम उमेरका बच्चाहरूसँग सम्बन्धित थियो।
बच्चा हिंसाको आरोप लगाइदिने धम्की पनि धेरै अभिभावकले बारम्बार दिने गरेका थिए। यो धम्कीले नै धेरै शिक्षकलाई कामप्रति हतोत्साहित बनाउने र तत्काल जागिर छाड्ने वातावरणको सिर्जना गर्ने गरेको थियो।
एक अभिभावकले प्रत्येक दिन बिहान आफ्नो कल उठाउन शिक्षकलाई भने पनि नमानेपछि उनी शिक्षककै विरुद्धमा पनि लागि परेका थिए। एक अभिभावकले आफ्नै साथीले कैँचीले काटेर कागजको नक्सा बनाएर घर लगेको दृश्य देखेपछि यसकै आधारमा शिक्षकलाई ब्ल्याकमेलिङ गरेका थिए।
गएको ६ सातामा धेरै शिक्षकले सियोलमा प्रदर्शन गरे। बालक हिंसाको धम्कीका कारण उनीहरू आजित भइसकेकाले सो प्रदर्शन गरेका हुन्। बच्चाहरूले एक आपसमा कुटाकुट गरे पनि बच्चालाई अनुशासनमा राख्नसमेत कठिन भएको उनीहरूले बताएका छन्।
अभिभावकले शिक्षकले सन् २०१४ मा पारित भएको बच्चा हिंसा सम्बन्धी कानुनलाई लगातार मिचेको आरोप लगाउन थालेका छन्। सो कानुन अनुसार बच्चा हिंसाको आरोप लागेमा शिक्षक तत्काल बर्खास्त हुन सक्छन्।
प्रदर्शनमा सहभागी एक २८ वर्षीया शिक्षिकाले आफू आत्महत्याको सोचमासमेत पुगेको बताएकी छिन्। दुई धम्कीपूर्ण कम्प्लेनपछि उनले आफूलाई सम्हाल्न तीन साता लागेको थियो। एक कम्प्लेनमा उनले बच्चाले शौचालय जान पाँच मिनेट कुर्नु परेको कुरा उल्लेख थियो। अर्कोमा बच्चाहरूलाई झगडा गर्न उक्साएको आरोप थियो। उनी आफू निर्दोष भए पनि दुवै घटनामा माफी माग्न बाध्य भएकी थिइन्।
उनी आफू कक्षा कोठामा पढाउँदा सधैँ असुरक्षित महसुस भएको सोच्न बाध्य भएकी थिइन्। ‘हामी शिक्षिकाहरू अत्यन्त कमजोर महसुस गरिरहेका छौं। यसमा सरोकार राख्नेहरू चुप बस्दा हामी माथि धेरै अन्याय भएको छ,’ धेरै शिक्षिकाले राख्ने कुरा नै यही हो।
अत्यन्त प्रतिस्पर्धात्मक कोरियाली बजारका कारण यो समस्या आएको हो। त्यहाँ हरेक कुरा शैक्षिक सफलतासँग मापन गरिन्छ। राम्रो विश्वविद्यालयमा प्रवेश पाउनका लागि बच्चाहरू सानो उमेरदेखि नै अत्यन्त प्रतिस्पर्धात्मक सोचमा हुर्किएका हुन्छन्। विद्यालय भन्दा बाहिर अभिभावकले आफ्ना बच्चालाई अत्यन्त महंगो शुल्क तिरेर अतिरिक्त क्रियाकलापको प्रशिक्षण गराउने चलनसमेत छ। धेरै अगाडिको चलन अनुसार दक्षिण कोरियामा पाँच या छ जना बच्चा हुने गरेका थिए भने अहिले एक मात्र हुने चलन बढ्दो छ। बढ्दो प्रतिस्पर्धात्मक सोचका कारण यसो भएको हो।
सियोलको शिक्षा विश्वविद्यालयमा पढाउने प्राध्यापक किम जोङ बाई बढ्दो असमानताका कारण यस्तो समस्या देखिएको बताउँछन्। उनको विचारमा कोरियाको परम्परा शिक्षकलाई एकदमै धेरै सम्मान गर्ने हो।
प्राध्यापक किमकै अनुसार अहिले दक्षिण कोरियाको अर्थतन्त्र तीव्र गतिमा विकास भइरहेको छ। साथै अभिभावक धेरै नै शिक्षित छन्। यसै कारण समस्या देखिएको छ। उनीहरूको मानसपटलमा आफूले करको रकमबाट उनीहरूले तलब खाएको तथा यसै कारण उनीहरूमाथि नियन्त्रण रहनु पर्छ भन्ने सोच छ। यो नै त्यहाँको सबै भन्दा ठुलो समस्यासमेत हो।
१० वर्ष भन्दा बढी समय शिक्षण पेसामा बिताएका अर्का एक शिक्षकको अनुभवमा उनले यस बिचमा डिप्रेसनको सिकार हुने अवस्था आएपछि दुई पिरियड बिरामी बिदा लिएका छन्। उनी अभिभावक र विद्यार्थीका कारण धेरै तनावमा पुगेको बताउँछन्।
क्वानको अनुभवमा चार वर्ष अघिसम्म उनी विद्यार्थीलाई अनुशासनमा राख्न सफल हुन्थे। चार वर्ष पछिको अवस्था फेरिएको छ। यस कारण उनी अहिले गरिब विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पुगेका छन्।
उनको विचारमा आफ्नो विद्यार्थीमा मात्र अभिभावक केन्द्रित भएकाले धेरै समस्या उब्जिएको छ। विद्यार्थी बिचको आपसी झगडा दक्षिण कोरियाका विद्यालयका लागि ठुलो समस्या नै बनेको छ। यसै विषयमा गत वर्ष एउटा नाटक प्रदर्शनमा आएको थियो। सो नाटक अत्यन्त लोकप्रिय भएको थियो।
बच्चा र अभिभावकको हित संरक्षण गर्न कठिन संस्था सञ्चालन गरेकी सिन मीन ह्याङसमेत यी घटना अत्यन्त दुखद भएको बताउँछिन्। उनले यस्ता केस बाहिर देखिएका केही भए पनि भित्र भित्र यसले गम्भीर समस्या ल्याउने उनी बताउँछिन्।
उनले धेरै अभिभावक सही भए पनि केही अभिभावकले वास्तविकता नबुझेका कारण समस्या आएको बताएकी छिन्। उनले कसरी विद्यार्थीलाई अनुशासनमा राख्ने भन्ने विषयमा शिक्षक आफै सचेत हुनुपर्ने कुरामा जोड दिएकी छिन्।
केही सही अभिभावकलाई समेत यस शैलीले पिरोलेको छ। ग्रुप च्याटमासमेत शिक्षकलाई कसरी तह लगाउने भन्ने विषयमा अभिभावकले सल्लाह गरेको एक अभिभावकको अनुभव छ। फोन नम्बर ब्लक गरिए पनि अन्यको फोनबाट उनीहरूले हैरान गर्ने गरेका छन्।
सन् २००६ मा ६८ प्रतिशत शिक्षक आफ्नो काममा सन्तुष्ट थिए। योक्रम अहिले घटेर सन् २०२३ मा २४ प्रतिशत मात्र सन्तुष्ट शिक्षक भेटिन्छन्। सरकार पनि अहिले समस्या बढ्दै गएको कुरामा सचेत छ।
शिक्षा मन्त्री ली जु हो यो समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्छन्। अहिले दक्षिण कोरियाको पुरै शैक्षिक प्रणाली नै समस्यामा परेको कुरा नकार्न सकिँदैन। स्रोतः बीबीसी