फाइल तस्वीर

राजनीति

बागमती प्रदेशसभाको बैठक भदौ २० मा बस्दै

By खबरहब

September 05, 2023

हेटौँडा- बागमती प्रदेशसभाको बैठक भदौ २० गते दिउँसो १ बजे बस्ने भएको छ । दुई महिनापछि सोमबार दिउँसो १ः३० बजेका लागि तय गरिएको बैठक सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै विपक्षी दलले बैठक चल्न नदिने चेतावनी दिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

प्रदेशसभा बैठकको कार्यसूची तय गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेका सांसदले सरकारले विगतमा गरको सहमति कार्यान्वयन नगरेको भन्दै सदन चल्न नदिने चेतावनी दिएका थिए । बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमै विवाद भएपछि सोमबार दिउँसो १ः३० बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित गरेर ४ बजेका लागि तय गरिएको थियो तर त्यसबीचमा पनि दलहरुबीच सदन सञ्चालनका विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सदन सञ्चालनका लागि दलहरुबीच पटक–पटक छलफल चलाए पनि सहमति हुन नसकेपछि बैठक स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी एमालेले सदन सञ्चालनका लागि सरकारले विगतमा गरेका सहमति पालना गर्नुपर्ने बताएको छ । एमालले यसअघि सरकारले बजेटमा विपक्षी दलको माग सम्बोधन गर्ने सहमति गरे पनि पालना नगरेका कारण समस्या भएको बताएको छ ।