ब्रेकिङ स्टोरी

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि निरन्तर सुनुवाइ हुँदै

By खबरहब

December 05, 2023

काठमाडौँ– सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।

यसअघि टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

अदालतको आदेश बमोजिम सरकारले लिखित जवाफ पेस गरेकाले आजबाट सो मुद्दामा नियमित सुनुवाइ हुन लागेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकको स्वनियमन कमजोर रहेको र रियल टाइमका सामग्री हटाउन नसकिने भन्दै प्रतिबन्ध नै लगाउनुपर्ने जिकिरसहितको जवाफ पठाएको छ ।

लिखित जवाफमा मन्त्रालयले टिकटकको अत्यधिक प्रयोगले अनिद्रा, एन्जाइटी, डिप्रेसन जस्ता समस्या देखिनुका साथै बालबालिका तथा युवायुवतीलाई गलत दिशातिर डाेर्‍याउँदै विषाक्त मनोविज्ञानको सिर्जना गरेको उल्लेख गरेको छ ।

टिकटक प्रतिबन्धको सरकारी निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट दायर भएका छन् ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुँइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपानेलगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।