कर्णाली– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी (काठको सामग्री) उपहार दिएका छन् । कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदै आएको काठको सामग्री हो ।
‘झुलाघाट–चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा सोमबार दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा मुखिया शाहीले अध्यक्ष ओलीलाई सो उपहार दिएका हुन् ।
उपहार ग्रहणपश्चात एमाले अध्यक्ष ओलीले आफूले लगाएको फूलको माला फुकालेर राउटे मुखिया शाहीलाई लगाइदिएका थिए । ओलीले माला लगाइदिँदै भने, ‘राउटे समुदायको अस्तित्व बचाएर जीविकोपार्जन सहज बनाउन शिक्षा, स्वास्थ्यमा सहज पहुँच पुर्याउन तथा नीतिगत कार्यक्रम बनाएर सहयोग गर्न एमाले तयार छ ।’
स्वागत कार्यक्रममा राउटे मुखिया शाहीले आफ्नो समुदायको पुर्ख्यौली पेसा नै सङ्कटमा पर्दै गएका कारण बाँच्न समस्या भएको दुःखेसो पोखेका थिए । उनले भने, ‘हामीलाई जङ्गल बस्न समस्या छ । हाम्रो समस्या बुझ्नुहोला भनेर तपाईँ पूर्व प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न आएको । अध्यक्ष ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै सहयोग गर्या । अब पनि केही सहयोग गरन्ना भनेर भेट्न आयाका हौँ ।’
राउटे मुखिया शाहीले चिसोमा न्यानो लुगा दिन र खाद्य उपलब्ध गरिदिन पनि अध्यक्ष ओलीसँग आग्रह गरेका थिए ।