काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी-बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको बताएका छन् ।
झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा रहेका ओलीले मंगलबार आयोजनाको निरीक्षण गर्दै ओलीले तीन वर्ष अघि नै टनेल निर्माणको काम भएको भए पनि भेरी-बबई बहुउद्देश्यीय डाइभर्सनको काममा पछिल्लो समय ढिलाइ भइरहेको बताएका हुन् । आफ्नो पालामा टनेलको ब्रेक थ्रु गरिएको भए पनि अहिले आएर कामले गति लिन नसकेको ओलीले बताए । ढिलो चाँडो जे भए पनि आयोजनाको काम सम्पन्न हुनेमा भने उनले विश्वास व्यक्त गरेका छन् ।
उनले निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नगर्न पनि आग्रह गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ वैशाख ३ गते मंगलबार ब्रेक थ्रु गरिएको थियो । चीनको सीआइसी र चाइना इन्जिनियरिङ ओभरसिज प्रालिको संयुक्त निर्माणमा आयोजनाको काम भएको हो ।
सो आयोजना निर्माण भएपछि बाँके र बर्दिया जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने छ भने आयोजनाबाट ४६.८ मेगावाट विद्युत् समेत उत्पादन हुने बताइएको छ ।