समाचार

राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री : शेखर कोइराला

By खबरहब

December 05, 2023

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतोमा एनसेल बिक्री भएको बताएका छन् । मंगलबार नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले भने,‘ आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिदै छ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभई सम्भव हुँदैन । त्यसकारण हामीले नेताहरूलाई प्रश्न गरेका छौं कि एनसेल बिक्रि प्रकरण किन भयो ?’ ।

यस घटनालाई नेपाली कांग्रेसले गम्भीररुपमा लिएको भन्दै नेता कोइरालाले नेपाललाई विकसित मुलुक बनाउन भ्रष्टाचारलाई निर्मूल गर्नुको विकल्प नभएको प्रष्ट पारे । 

 कोइरालाले भने, ‘अहिले जताततै मानिसहरुमा असन्तुष्टि छ । यसको कारण के हो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ । भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो ।’