ब्रेकिङ स्टोरी

यातायात व्यवस्था कार्यालय कोशीका प्रमुखसहित पाँच जना कारागार चलान 

By खबरहब

December 05, 2023

काठमाडौँ– यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन् । राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालीन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् । 

फैसलापछि फरार भएका तत्कालीन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो । मंगलबार पाँचै जनालाई कारागार चलान गरिएको मोरङ प्रहरीले जनाएको छ । 

विराटनगरमा लुकेर बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । उनले आफूहरुलाई फैसला कार्यान्वयन गराउने क्रममा प्राप्त नामहरुका आधारमा भ्रष्टाचार मुद्दामा फरार रहेको जानकारी प्राप्त भएपछि पक्राउ गरिएको जानकारी दिएका छन् ।

राजस्व हिनामिना सम्बन्धी सो भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाण्डौले यातायात कार्यालय इटहरीका तत्कालीन तीन जना उपसचिवहरू रमेश प्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, होमनाथ भट्टराई र लेखा अधिकृत सुरेश अधिकारी र सहलेखापाल टंक बहादुर खड्का सहित ११ जनालाई दोषी ठहर गरी कैद बिगो र जरिवाना तोकेको थियो ।