राजनीति

जेठमा पुग्यो एकीकृत समाजवादीको महाधिवेशन

By खबरहब

December 05, 2023

काठमाडौं – नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ गतेबाट हुने भएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

मदन-आश्रित स्मृति दिवसका अवसर पारेर एकीकृत समाजवादीले महाधिवेशन सुरू गर्न लागेको उनले बताए । महाधिवेशन काठमाडौंमै हुनेछ ।

राष्ट्रिय महाधिवेशनभन्दा अघि प्रदेश, जिल्लालगायत अधिवेशन सकिने गरी कार्यतालिका जारी गरिनेछ । यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने एकीकृत समाजवादीको कार्यतालिका थियो ।

बैठकले यही मंसिर २८ र २९ गते सचिवालय बैठक बस्ने, पुस ९ गते स्थायी कमिटी, पुस १० गते पोलिटव्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको खतिवडाले जानकारी दिए ।

माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय एकीकृत समाजवादीले गरेको छ ।

सचिवालय बैठकले राष्ट्रिय सम्मेलनमा विधानका कतिपय व्यवस्थाबारे छलफल गर्न एक कार्यदल बनाउने निर्णय पनि गरेको छ । कार्यदलमा उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहनेछन् ।