समाचार

विपिन जोशीको रिहाइको पहल गरिदिन कतारसँग पुनः आग्रह

By खबरहब

December 05, 2023

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन्।

मंगलबार परराष्ट्र मन्त्रालयमा कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग भएको भेटवार्तामा मन्त्री साउदले विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

विद्रोही हमासले रिहा गर्न लागेका ५० जनाको समूहमा जोशीको पनि रिहाइका लागि पहल गरिदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए ।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरू भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताए। साथै उनले नेपाली विद्यार्थी जोशीसहित अपहरणमा परेकाहरूको रिहाइका लागि समेत प्रयास जारी रहेको जवाफ दिए।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुराकानी गरेका थिए।

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए।