ब्रेकिङ स्टोरी

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

By खबरहब

January 06, 2023

काठमाडौँ– सत्ता साझेदार दलले ल्याउन लागेको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम् कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिमरूप दिएको हो । कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए। शनिबार बस्ने शीर्ष नेताको बैठकले टुङ्ग्याएपछि सार्वजनिक हुने उनको भनाइ छ । 

सबै क्षेत्रलाई समेटेर जनतालाई परिवर्तनको प्रत्यक्ष आभाष दिलाउने, विकासको अनुभूति दिने कार्यक्रम प्रस्ताव गरिएको उनले जानकारी दिए। ‘जनतालाई खुसी बनाउने कार्यक्रम आउँछ’, महामन्त्री ढकालले भने । 

सत्ता साझेदार दलले सरकारलाई प्रभावकारी बनाउन न्यूनतम् साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्शेर राणालगायत रहेका छन् ।