समाचार

वीरेन्द्रनगरको एकीकृत विकास योजना अवधारण तय

By खबरहब

February 06, 2023

सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई एकीकृत विकास योजनाको अवधारण ल्याएको छ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको राजधानी वीरेन्द्रनगर स्थानगत एकीकृत विकास योजनाको अवधारण सरकारले ल्याएको बताएका हुन्।

उक्त योजना तीनै तहका सरकारसँग समन्वय गरेर कर्णाली प्रदेश सरकारले योजना लागू गर्ने जनाएको छ। प्रदेश सरकार वीरेन्द्रनगर नगरपालिका, संघीय सरकार समेतको सहकार्यमा प्रदेश मुख्यालय रहेको वीरेन्द्रनगरलाई आधुनिक एवं व्यवस्थित सहर बनाउने तयारी सुरु गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आयोजना गरिएको पत्रकार कार्यक्रममा प्रदेश प्रमुख सचिव डा गोपीकृष्ण खनालले वीरेन्द्रनगर नगरपालिकाको स्थानगत एकीकृत विकास योजना अवधारणा सार्वजनिक कार्यक्रम आगामी जेठ मसान्तसम्म योजनाको विवरण आउने बताए।

उनले वीरेन्द्रनगरलाई कंक्रिटको शहर नबनाई सभ्य, सुन्दर, हरित, व्यवस्थित, समृद्ध शहरको रूपमा विकास गर्न यो अवधारणा ल्याइएको सुनाए। उनले कर्णाली प्रदेशको राजधानीको रूपमा २०७४ साल फागुन १२ गते प्रदेश सभाको बैठकले निर्णय गरिसकेको हुँदा यो सहरलाई आधुनिक र व्यवस्थित बनाउन आवश्यक देखिएकोले यो योजना ल्याइएको जानकारी दिए।

यस्तै, डा.खनालले उच्च शिक्षाको केन्द्रको रूपमा विकास गर्ने, पर्यटकीय महत्त्व, कृषियोग्य जमिनको संरक्षण गर्ने, सुरक्षित आवास क्षेत्रको विकास र आवश्यकताको पूर्ति गर्ने, जलाधार क्षेत्र निर्माण र पानीको व्यवस्थापन गर्ने, हरियाली वातावरण बनाउने र आर्थिक विकासका साथै रोजगारी सिर्जना गर्न समेत भएकाले यो योजना महत्त्वपूर्ण हुने जनाए ।

मुख्यमन्त्री राजकुमार शर्माले योजना बनेपछि लागत देखि सबै कुरा आउने बताउँदै तीनै तहका सरकारको सहकार्यमा वीरेन्द्रनगर बनाइने बताएका छन्।