काठमाडौँ : रवि लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर आफ्ना सबै कुण्ठा पोखेका छन् । पत्रकार सम्मेलनमै उनले आफूले मिडियाविरुद्ध बोल्दा ठूलो मूल्य चुकाउनुपर्ने हेक्का रहेको भन्दै आफ्ना कुण्ठा पोख्दा राहत महसुस भएको बताएका हुन् ।
उनले अमेरिकाबाट नेपाल फर्केदेखि आफूले गरिरहेका काममा क-कसले अवरोध सिर्जना गरेका छन् वा आफूले काम गर्दा त्यसबाट को-को असन्तुष्ट छन् भनेर सबै नालीबेली सार्वजनिक गरेका छन् ।
गृहमन्त्री नपाउँदा सरकारबाट बाहिरिएको झोकमा रवि लामिछानेले केही नेता, धेरै पत्रकार र मिडिया मालिकप्रतिको गुनासो प्रकट गरेका छन् । यसले कालान्तरमा उनलाई कति क्षति गर्छ, त्यो उनको पाटो हो ।
तर यसले सबैभन्दा धेरै उनी पद गुमाएपछि संयमित हुनुको साटो झन् धेरै पोखिएका छन् । आफूमा तमाम कमजोरी हुँदा पनि रवि लामिछाने दोष अरुलाई थोपरिरहेका छन् । उनका केही प्रयास राम्रा थिए । धेरैका लागि अनुकरणीय थिए । उनी आफैँले थालेको छोटो समयको राजनीतिमा सफल पनि थिए ।
तर सत्ता र पद गुम्दा सम्हालिन नसकेका रवि लामिछानेले मिडियालाई तारो बनाएका छन् । यसरी तारो बनाउनु गलत हो वा सही ? तर रविले गरिरहेको गल्तीको समीक्षा आफूले गर्नुको साटो मिडियाले गरिदिउँन भन्ने उनको आशय भने गलत छ ।
मिडिया सदाबहार निगरानीकर्ता हो । मिडियाले सँधै निगरानी गर्छ । हरेकका काम कारबाहीको निगरानी गर्ने मिडियाको दायित्व हो । तर मिडियाको दायित्वलाई कमजोर सम्झेर बेवास्ता गर्ने रवि लामिछाने प्रवृत्ति घातक देखिन्छ । यसले भविष्यमा पनि मिडियाले उठाएका विषयवस्तु ओझेल पारेर केवल गाली शैली निम्तिने जोखिम बढेको छ ।
आफूले पद गुमाएको रिसमा आफ्नो पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने रविको कर्म सही देखिदैन । यसले भोलिका दिनमा धेरै नेता कार्यकर्तालाई योग्यता र क्षमता भएर पनि अवसरबाट बञ्चित गरिरहने प्रपञ्चका रुपमा बुझिनुपर्छ ।
यसले भोलिका दिनमा रवि लामिछाने आफूले केही गर्नेभन्दा आफूले भनेको नभए सबै पार्टी पंक्ति र पद्धति नै तहसनहस पारिदिने धाउन्नमा देखिन्छन् । आफूलाई आलोचित बनाउने मिडियालाई तथानाम गाली गर्ने उनी भुइँमान्छेका मुद्दाभन्दा बढी शक्तिशाली मान्छेका पछाडि लागेर आगामी राजनीतिक भविष्य नै विवादमा पारिरहन पनि चाहन्छन् ।